दिपायल , मङ्सिर २९ : डोटीका स्थानीय सरकारले कृषि क्षेत्रलाई आयमूलक व्यावसायिक रुपमा विकास गर्दै बेरोजगार युवालाई कृषिमा आकर्षित गर्ने योजना ल्याएका छन् ।
दिपायल सिलगढी नगरपालिकाले फलफूल खेतीलाई प्राथमिकतामा राखेको छ भने जोरायल, बडीकेदार, सायल र बोगटान फुड्सिल गाउँपालिकाले तरकारी खेतीको विशेष योजना बनाइ कार्यान्वयनमा ल्याएका छन् ।
स्थानीय सरकारले कृषिमा दक्षता बढाउन वास्तविक कृषकलाई अनुदानको व्यवस्था गर्ने र अर्गानिक कृषिलाई प्रोत्साहन गर्ने घोषणा गर्दै आएका छन् । दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रलाई कृषि पकड क्षेत्र बनाउने अभियान सुरु गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० को पशुसेवा शाखा र कृषि शाखाको शसर्त तथा निशर्त कार्यक्रमअनुसार वडा नम्बर १, २, ३ मा लागू हुने गरी कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।
नगरलाई नमूना कृषि पकड क्षेत्र बनाउने अवधारणाका साथ चालु आवको कार्यक्रम ती वडामा तरकारी खेतीसँगै ग्रामीण कुखुरा प्रवद्र्धन तथा वितरण, घाँसको स्रोत र केन्द्र स्थापना, क्रस बोयर बोका वितरण, माछापालन अनुदान र नयाँ बाख्रा पकेट विकास कार्यक्रम ल्याइएको मेयर बाजिसिंह खड्का (विजय) ले बताउनुभयो । क्रमिक रुपमा अन्य वडामा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने मेयर खड्काले जानकारी दिनुभयो ।
स्थानीयस्थरमा कृषि उत्पादन र बजारीकरणमा आधुनिकीकरण गर्ने बडीकेदार गाउँपालिका अध्यक्ष भैरव साउदले बताउनुभयो । कृषि उत्पादन र बजारीकारणका लागी डिपीआर गरी पालिकाले गुरुयोजना बनाइरहेका उहाँले बताउनुभयो ।
आगामी आवमा कृषि क्षेत्रमा थप आधुनिकीरण गर्ने र राम्रो उत्पादन गर्ने कृषकलाई सम्मान गर्ने पनि बताइएको छ । साथै प्रत्येक वडामा कृषि महिला समूह गठन गरी बढीभन्दा बढी सहभागिता गराउने लक्ष्य रहेको छ ।
गाउँपालिकाबाट अनुदानमा बाझो रहेको जमिनमा टनेलबाट तरकारी खेती गरी जीविकोर्पाजन गरिरहेको गाउँपालिका–५ का तेज मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “मासिक २० देखि ३० हजार आम्दानी गरेको छु ।”
पछिलो समयमा स्थानीय सरकार आएपछि अनुदनामा कृषि उत्पादन सामग्रीसहित बीउविजन पाइने भएकाले यस क्षेत्रका किसान कृषि पेशामा लागेको उहाँको भनाइ छ ।
उहाँले कृषि क्षेत्रलाई प्रभावकारी बनाउन माटो परीक्षण हुनुपर्ने, स्थानीय तहले सम्बन्धित क्षेत्रमा उत्पादन हुने कृषि बालीलाई प्रवद्र्धन गर्न लगानी गर्नुपर्ने, युवालाई कृषिसँग जोड्नुपर्ने र बाझो जमिनलाई सदुपयोग गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने जानकारी दिनुभयो ।
कृषि क्षेत्रलाई थप विकास गर्न सरकारले कृषियोग्य भूमिको नियमित परीक्षण गर्ने नीति लिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।
कृषिलाई व्यावसायीकरणका लागि आधुनिक कृषि अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो । डोटी जिल्लामा रहेका सबै स्थानीय तहले कृषि क्षेत्रका लागि गुरुयोजना बनाइ योजना कार्यान्वयन गरिरहेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।
आधुनिक फलफूल खेतीलाई प्राथमिकता
पछिलो समय फलफूलको उत्पादन र बजार राम्रो देखेपछि डोटीका स्थानीय तहले आधुनिक फलफूल खेतीलाई प्राथमिकतामा राखेका छन् । अन्नबालीको तुलनामा कम मिहिनेत र थोरै लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकाले आफूहरु फलफूल खेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् ।
बडीकेदार गाउँपालिकाको छेडा, टिमीट, मुडा, रजेडा, लानाकेदारेश्वर, माननकापडी, पातल, बोगटान फुड्सिल गाउँपालिकाको सिमचौर, केदार अखडा, चवाराचौतारा कानाचौर, जोरायल गाउँपालिकाको निरौली खसरेलगायत किसानले फलफूल खेती विस्तार गरेका छन् ।
स्थानीय सरकारबाट अनुदानमा फलफूलका विरुवा लगेर आधुनिक रुपमा बडीकेदार गाउँपालिका–४ टिमिटका लालबहादुर जेठाराले तीन रोपनी जग्गामा छ सय बोट सुन्तलाका नयाँ विरुवा लगाउनुभएको छ । गाउँका चक्र जेठाराले खेत, बारी र पाखो जग्गा गरी चार रोपनी क्षेत्रफलमा सुन्तला र मौसमी फलफूलका बिरुवा लगाएको बताउनुभयो ।
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले अधिकांश वडामा विभिन्न किसिमका फलफूलको सम्भावना रहेकाले फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत शङ्कर सुचीकारले बताउनुभयो ।
नगरपालिकाका–९ वडामध्ये अधिकांश वडामा सुन्तला, मौसम, कागती, अलैँची र किवीलगायत फलफूल खेतीको सम्भावना रहेकाले त्यसको आधुनिक रुपमा व्यावसायिक उत्पादनमा जोड दिइने प्रमुख प्रशासकीय अधिकृत सूचीकारले बताउनुभयो ।
आधुनिक फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमका लागि नगरपालिकाले रु १८ लाख बजेट विनियोजन गरेको दिपायल सिलगढी नगरपालिकाका मेयर खड्काले बताउनुभयो ।
खड्काले भन्नुभयो, “केन्द्र सरकारले लिएको आर्थिक समृद्धिको कार्यक्रमलाई सघाउने यो हाम्रो सानो प्रयास हो ।” उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराउने गरी बजेटको व्यवस्थापन गरेर कार्यक्रम ल्याइएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा बढीभन्दा बढी किसानलाई सहभागी गराउन समूह वा व्यक्तिलाई अनुदान उपलब्ध गराउने विषयमा निर्णय गरिने नगरपालिकाले जनाएको छ ।
फलफूल खेतीका लागि जिल्लाको बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका र दिपायल सिलगढी नगरलाई पकेट क्षेत्र घोषणा गरिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।
ग्रामीण सडकमा अटोरिक्सा
तराईका बजारमा देखिने ओटो रिक्सा विस्तारै पहाडका ग्रामीण सडकमा देखिन थालेका छन् । पछिलो समयमा बडीकेदार गाउँपालिकाको स्थानीय बजार बिपी नगरबाट सडेखान सडक, खड्यौउली अलाडी, बर्छौन, बाग्छेडा देउलीलगायत ग्रामीण सडकमा यो सवारी चलेको छ ।
डोटीको बडीकेदार गाउँपालिकाको ग्रामीण सडकमा आटोरिक्सा सञ्चालन भइरहेको गाउँपालिका–२ का स्थानीय ललित बडैलाले बताउनुभयो । उहाँले भन्नुभयो, “सहज बाटो छैन तै पनि अटोरिक्सा चलाइरहेकै छन् ।”
आवतजावत सहज बनाउन बडीकेदार गाउँपालिका–१ अलाडीका ४६ वर्षीय खडक बोहराले अटोरिक्सा सञ्चालनमा ल्याउनुभएको हो । रु छ लाख ४५ हजार लगानी गरेर किनेको यस अटोरिक्साबाट अहिले दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको बोहराको छ ।
उहाँले भन्नुभयो, “यस क्षेत्रका नागरिकलाई सेवा गर्न पाइने र आम्दानी हुने भएकाले व्यवसाय सुरु गरेको हुँ ।” भाडा महँगो भए पनि जरुरी कामका लागि आफूहरूलाई अटोरिक्सा निकै उपयोगी भएको स्थानीय नवीन जेठारा बताउनुहुन्छ ।