अनुशासनका लागि खेलकुद अपरिहार्य : मन्त्री पौडेल

  मंसिर २५, २०७९

गण्डकी,मङ्सिर २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानव समाजमा अनुशासन कायम राख्नका लागि खेलकुद अपरिहार्य हुने बताउनुभएको छ । निजी विद्यालयको छाता सङ्गठन प्याब्सन कास्कीद्वारा आयोजित १७औँ प्याब्सन स्पोर्टस मिटको आज पोखरामा उद्घाटन गर्दै उहाँले शिक्षा विना समाज विकासको परिकल्पना गर्न नसकिए झै समाजमा अनुशासन कायम गर्न र स्वास्थ्यका लागि खेलकुदको विकास आवश्यक भएको बताउनुभयो ।

मुलुकको अग्रगामी विकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले शिक्षासँगै सीपको विकास र अध्ययनलाई रोजगारसँग जोड्नुपर्ने भन्नुभयो । भविष्यका लागि पनि शिक्षण पद्धतीलाई सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षाको विकासका लागि सबैको सहकार्य, सहयोग र हातेमालोको आवश्यक रहेको बताउनुभयो ।

प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल प्याब्सनले गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापलाई जोड दिएको बताउनुभयो । प्याब्सन कास्कीमा एक सय दुई निजी तथा आवासीय विद्यालय सदस्यका रूपमा आबद्ध रहेको र यी विद्यालयमा ७५ हजारभन्दा बढी विद्यार्थी र सात हजार तीन सयभन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारी कार्यरत रहेको प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया