जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्छौँ : साउद

  मंसिर ०८, २०७९

कञ्चनपुर, मङ्सिर ८ : कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक–वाम गठबन्धनका प्रतिनिधिसभाका विजयी उम्मेदवार नारायणप्रकाश साउदले जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्ने बताउनुभएको छ ।

आज शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित विजयी जुलुसलाई सम्बोधन गर्दै उहाँले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताउनुभयो । गठबन्धनको सरकार निरन्तर जारी रहने उल्लेख गर्नुहँुदै उहाँले देश विकासको गतिमा अगाडि बढ्ने बताउनुभयो । “गठबन्धन भत्किँदैन”, उहाँले भन्नुभयो, “विकासका लागि सरकारको स्थायित्व आवश्यक हुन्छ, त्यसका लागि गठन्धन आवश्यक छ ।”

नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकार पाँच वर्ष काम गर्ने उहाँले बताउनुभयो । “जनताका धेरै अपेक्षा छन्, सबै अपेक्षा पूरा गर्नका लागि सक्दो पहल गछौँ”, उहाँले भन्नुभयो, “यसका लागि सबैको साथ र सहयोग आवश्यक छ ।”

चुनावका बेला जनतासँग गरेको सङ्कल्प पूरा गर्ने नेपाली कांग्रेसका प्रदेशसभाका विजयी उम्मेदवार बहादुरसिंह थापाले बताउनुभयो । “जनताले विकास चाहेका छन्, युवाले रोजगारी मागेका छन्”, उहाँले भन्नुभयो, “जनताका माग पूरा गर्नका लागि प्रतिबद्धता व्यक्त गर्दछु ।”

नेकपा(माओवादी केन्द्र)का प्रदेशसभाका विजयी उम्मेदवार ओमविक्रम भाटले मतदातासँग गरेका वाचा पूरा गर्ने बताउनुभयो । प्रतिबद्धतापत्रमा उल्लेख गरेका कुरा अक्षरशः पूरा गर्ने उहाँको भनाइ थियो ।

निर्वाचन क्षेत्र नं २ का विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयबाट विजयी जुलुस निकालेर लोकतान्त्रिक–वाम गठबन्धनको कार्यालमा पुगेर समापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया