बाजुराको स्वामीकार्तिकको मतपेटिकामा आगजनी

  मंसिर ०४, २०७९

बाजुरा, मङ्सिर ४ : बाजुराको स्वामिकार्तिक–१ भगवती आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा मतपेटीकामा आगजनी भएको छ । मत हाल्ने विषयलाई लिएर कार्यकर्ताबीच झडप भएको बेला समानुपातीकको मतपेटीकामा आगजनी भएको हो ।

जिल्ला निर्वाचन कार्यलय बाजुराले मतपेटीकामा आगजनी भएपछि दुई–चारवटा मतपत्र जलेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जिल्लाका दर्जनौ ठाउँमा झडप भए पनि अहिले केही ठाउँमा मतदान सुरु भएको र अझै तीन ठाउँमा मतदान सुरु नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले जिल्लाको बूढीगङ्गा–८ र बूढीनन्दा–५ मा अझै मतदान हुन सकेको छैन ।’’ अहिले त्यो ठाउँमा पनि मतदान सुरु गर्ने प्रक्रिया भइरहेको उहाँको भनाइ छ ।

बाजुरामा बिहान शान्तिपूर्ण वातावरणमा मतदान सुरु भएको भए पनि केही समयमा दर्जनौ मतदान केन्द्रमा भागाभाग भएको थियो । आआफ्नो पकेटमा नेता तथा कार्यकर्ताले मतदान स्थलमा नियन्त्रण गरेपछि विवाद सुरु भएको मतदाताको भनाइ रहेको छ ।

बाजुरामा ७० वटा मतदान स्थल र ११२ मतदान केन्द्र र २ वटा अस्थायी केन्द्रमा ९०१ जना कर्मचारी समेत खटाएका छन् । निर्वाचनमा महिला ४० हजार ८३८ र पुरुष ४२ हजार ७२७ गरी ८३ हजार ५६७ जना मतदाता रहेका छन् ।

बाजुरामा जङ्गबहादुर गिरी स्वतन्त्र टेक बहादुर बडुवाल जन समाजवादी राम बहादुर शाही, नेकपा (एमाले)का कर्णबहादुर थापा र नेपाली कांग्रेसका पाटीका बद्रीप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ भने प्रदेश (क) नेकपा एमालेका बलदेव रेग्मी नेकपा नेकपा (माओवादी केन्द्र)का कर्ण बहादुर बि.क. एकीकृत समावादी पाटीका नरेश शाही उम्मेदवार रहेका छन् । प्रदेश (ख) बाट  नेकपा (एमाले)का लालबहादुर थापा नेपाली कांग्रेसका पदमबहादुर शाही उम्मेदवार रहेका छन् ।

चुनावलाई सव्यभव्य र भयरहित तरिकाले सम्पन्न गर्ने गरी नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, अनुसन्धान विभाग गरी चारवटा तहका सुरक्षाकर्मीको समेत व्यवस्था गरेको छ । अहिले झडप भएको ठाउँमा थप सुरक्षाकर्मी पठाएर शान्त भइसकेको प्रहरी कार्यालय बाजुराले जानएको छ ।
कुल ८३ हजार ५६७ मतमध्ये ५१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

तपाईको प्रतिक्रिया