हेटौँडा, मङ्सिर १ : यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दल र उम्मेदवारले अनुशासन र मर्यादामा रहेर प्रचारप्रसार गरेको निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख लुम्बनाथ पोखरेलले बताउनुभएको छ ।
प्रचारप्रसार गर्न पाउने समयको अन्तिम दिनसम्म आइपुग्दा आचारसंहिता उल्लङ्घनका उजुरीहरु नआएको बताउँदै उहाँले प्रचारशैलीमा नै परिवर्तन आएको बताउनुभएको हो । बागमती प्रदेशका १३ वटै जिल्लामा आचारसंहिताका विषयमा छिटपुटबाहेक यस्तो किसिमको उजुरी र अप्रिय घटना नभएको प्रमुख पोखरेलको भनाइ छ ।
यसपटकको निर्वाचनमा विगतको तुलनामा धेरै भिन्नता पाएको उहाँले बताउनुभयो । प्रमुख पोखरेलका अनुसार आचारसंहिता उल्लङ्घन भयो भनेर दललाई फोन गर्न र पत्र काट्न नपर्नुले यो निर्वाचन मर्यादित र अनुशासित भएको छ भन्नुभयो ।
उहाँले प्रचारशैलीमा परिवर्तन आएका कारण पनि बजार सफा र स्वच्छ रहेको बताउनुभयो । सामाजिक सञ्जालले प्रचारशैलीमा ल्याएको परिवर्तनले प्रचार प्रसारशैलीलाई शिष्टता प्रदान गरेको उहाँको भनाइ छ ।
सामाजिक सञ्जालमा र सञ्चारमाध्यममा उम्मेदवारका एजेण्डामाथि छलफल हुने र प्रष्ट पारिने कार्य यो पटकको निर्वाचन प्रचारप्रसारका क्रममा भेटिएको हेटौँडा–४ का स्थानीय एवं पूर्वशिक्षक ऋषिराम पोखरेलले बताउनुभयो । यसैगरी मकवानपुर कैलाश गाउँपालिका–९ की पार्वती वर्तौलाले पनि यो चुनाव फरक जस्तो महसुस भएको बताउनुभयो ।
पहिलेका चुनाव प्रचारप्रसारमा बालबालिका देखिने गरेको भएपनि यो पटक भने यसमा यदाकदा छिटपुटबाहेक यस्ता दृश्य नदेखेको बताउनुभयो । तर दैनिकरुपमा मतदाता सर्वेक्षणको नाममा, अपलि लगाएका श्रब्य, दृश्य भने सामाजिक सञ्जालमा पाइएको उहाँले बताउनुभयो ।