गण्डकी, मङ्सिर १ : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले स्थायित्व, समृद्धि र विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।
कास्की निर्वाचन क्षेत्र न १(क) को चुनाव प्रचारप्रसारका क्रममा बुधबार आयोजित चुनावी सभामा उहाँले हालसम्म प्राप्त राजनीतिक उपलब्धिको रक्षासँगै स्थायित्व, समृद्धि र विकासका लागि गठबन्धनको जित अपरिहार्य भएको बताउनुभयो ।
निर्वाचन क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य उम्मेदवार दीपक कोइरालाले यस निर्वाचन क्षेत्र अन्तर्गत मुख्य र भित्री बाटोमा साइकल लेन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भण्डारढिकमा राष्ट्रियस्तरको रङ्गशाला, ग्रामिण बाटोमा ढलान र कालोपत्रे, सात ताल लिङ्क रोड जस्ता विकासका योजना अघि सारिएको बताउनुभयो ।
त्यस्तै लामेआहालमा प्रादेशिक बसपार्क, अन्तर्राष्ट्रिय विमानस्थलदेखि पट्नेरी जोड्ने मोटरबाटो, सात ताल संरक्षण, सीसाघाट–सिक्लेस करिडोर निर्माणलगायतका विषयलाई आफूहरूले अघि बढाउने उहाँले बताउनुभयो ।
पूर्वमन्त्री यज्ञबहादुर थापाले गठबन्धनका पक्षमा सर्वसाधारणलाई मत दिन आग्रह गर्दै जनताले अनुभूति गर्ने किसिमको विकास गरिने विश्वास व्यक्त गर्नुभयो ।