अन्तिम कसरतमा इलामका उम्मेदवार 

  कार्तिक ३०, २०७९

मङ्गलबारे, कात्तिक ३० : चुनावको दिन नजिकिएसँगै उम्मेदवारहरू अन्तिम कसरतमा जुटेका छन् । उम्मेदवारहरू अहिले घरदैलो र आमसभामार्फत जनताको मन जित्नेतिर लागेका छन्।

इलाममा दुई ठूला ‘हेभिवेट’ मानिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही जिल्लाबाट उम्मेदवारी दिएका कारण यस पटकको निर्वाचनलाई निकै महत्त्वका साथ हेरिएको छ ।

यहाँ हुने निर्वाचनमा दुई ठूला उम्मेदवारसँग प्रतिस्पर्धामा लागि दुई पार्टीका जिल्ला सभापतिले नै टक्कर दिने सङ्केत देखिएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्षसमेत यसै जिल्लाबाट निर्वाचनमा उठ्नुभएको छ ।

पूर्वप्रधानमन्त्री खनालले यस पटक लोकतान्त्रिक–वाम गठबन्धनको साथमा नेकपा (एकीकृत समाजवादी) बाट इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । उहाँसँग नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेत भिड्दै हुनुहुन्छ । सातौँ पटक सोही निर्वाचन क्षेत्रबाट उठ्नुभएका खनाल छैटौँ जितको खोजीमा हुनुहुन्छ ।

एक पटक नेपाली कांग्रेसका उम्मेदवार बेनुपराज प्रसाईंसँग पराजित हुनुभएका उहाँ यस पटक आफ्नै पूर्वसहकर्मीसँग चुनाव लड्दै हुनुहुन्छ । खनालसँग उहाँकै चेलो मानिने बस्नेत दुई कार्यकाल इलाम नगरपालिकाको प्रमुख भइसक्नुभएको छ ।

खनालले यस पटक आफ्नो प्रतिस्पर्धा नै नहुने भन्दै आफ्नो जित निश्चित भएको दाबी गर्नुभएको छ । उहाँले एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका गठबन्धन दलबाट आउने मतले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो ।

यता प्रतिस्पर्धी बस्नेतले भने पाका उम्मेदवारलाई सम्मानसहित नयाँ उम्मेदवारले जित्ने दाबी गर्नुभएको छ । उहाँहरू दुवैले इलाम क्षेत्र नम्बर १ का जनतामाझ घरदैलो गरिरहनुभएको छ ।

दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको इलामको क्षेत्र नम्बर २ मा समेत प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । यहाँ पूर्वसभामुख नेम्वाङसँग नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का चुनावी प्रतिस्पर्धीका रूपमा हुनुहुन्छ । खड्कालाई सत्ता गठबन्धन दलहरूको साथ रहेको छ ।

नेम्वाङ यस पटक पनि यही क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ । यसअघि चार पटक यही क्षेत्रबाट निर्वाचित हुनुभएका उहाँ यस पटक पनि जितका लागि कसरत गरिरहनुभएको छ ।

समाज सेवामा चर्चा कमाएका कांग्रेस जिल्ला सभापतिसँगको प्रतिस्पर्धा नेम्वाङका लागि निकै कडारूपमा लिइएको छ । नेम्वाङले निर्वाचन घोषणा भएपछि खासै आफ्नो क्षेत्र नछोडी घुमिरहनुभएको छ । उहाँले संविधान जारी गर्दा आफ्नो पहल र प्रयास भएको र यहाँका जनताको शिर झुक्न नदिने भन्दै आफूलाई जिताउन आग्रह गर्दै आउनुभएको छ ।

उहाँका प्रतिस्पर्धी खड्का पनि उत्तिकै लागि पर्नुभएको छ । खड्काले वैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ ।

उहाँले पटकपटक जितेर पनि आफ्नो निर्वाचन क्षेत्रमा विकासको बीउ रोप्न नसकेका नेताविरुद्ध धेरै युवा लागेको जिकिर गर्नुभयो । गठबन्धन दलहरू एक जुट भएर निर्वाचनमा होमिनु नै आफ्नो जित सुनिश्चित भएको उहाँको भनाइ छ ।

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वासमेत यसै निर्वाचन क्षेत्रबाट चुनावमा होमिनुभएको छ । उहाँले पनि यस क्षेत्रमा एउटै उम्मेदवारले पटकपटक जितेका कारण यहाँको विकास हुन नसकेकाले विकासको खाकासहित आफू आएको र आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो ।

दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा रहेको इलाममा दुई लाख २४ हजार चार सय ७४ मतदाता रहेका छन् । चुनावका लागि यहाँ एक सय ५० निर्वाचनस्थल र दुई सय ८५ वटा मतदान केन्द्र तोकिएको छ ।

तपाईको प्रतिक्रिया