देशको भविष्यको फैसला गर्ने दिन मङ्सिर ४ : उपसभापति गुरुङ

  कार्तिक ३०, २०७९

वालिङ, कात्तिक ३० : स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले राजनीतिक भविष्यको फैसला गर्ने बताउनुभएको छ ।

गल्याङ–३ मा भएको घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति गुरुङ्ले कस्तो नेतालाई मत दिन्छौँ यसैका आधारमा भविष्यको फैसला हुने छ भन्नुभयो ।

“हामीले कस्तो प्रवृत्तिको नेता चुन्छौँ त्यसैको आधारमा भविष्यको निर्धारण हुन्छ”, उहाँले भन्नुभयो, “जस्तो प्रवृत्तिको नेता चुन्छौँ त्यहीअनुसारको भविष्य निर्धारण हुन्छ, त्यसैले मङ्सिर ४ गते आफ्नो मतबाट फैसला गर्नुहोस् ।”

गरिब जनताले खाइनखाइ तिरेको करबाट ठूला र पहुँच भएकाले राज्यको ढुकुटीबाट स्वास्थ्य उपचार गर्ने तर तिनै जनताले सामान्य बिरामी हुँदा पनि सिटामोलसमेत नपाउने अवस्थाको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।

“गरिब जनताले दिएको मतबाट विजयी बन्ने र राज्यको ढुकुटीबाट स्वास्थ्योपचार गर्ने प्रवृत्ति पनि भ्रष्ट प्रवृत्ति हो”, उहाँले भन्नुभयो, “हामीले व्यवस्था बदल्यौँ तर अवस्था बदल्न सकिरहेका छैनौँ, भ्रष्ट प्रवृत्तिको विरुद्ध मत दिएर अवस्था बदल्ने दिन मङ्सिर ४ गतेको दिन हो ।”

निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न उम्मेदवारले पनि निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेका छन् ।

तपाईको प्रतिक्रिया