मतदाता रिझाउन अन्तिम प्रयास गर्दै उम्मेदवार किसानको खेतबारीमा

  कार्तिक २९, २०७९

म्याङलुङ, कात्तिक २९ : तेह्रथुमका विभिन्न राजनीतिक दलका उम्मेदवार भोट माग्दै गाउँगाउँमा पुग्न थालेका छन् । यतिबेला किसानलाई खेती भित्र्याउने चटारो छ । किसानलाई भेट्न उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन् । किसानलाई चुनावी माहोलभन्दा खेतीपातीको चटारो छ । बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन् ।

जिल्लाका अधिकांश किसान यतिबेला धान थन्क्याउन व्यस्त छन् । उनीहरुलाई निर्वाचनमा कसले जित्ला र सरकार बनाउला भन्ने भन्दा पनि यो पटक कति धान भित्र्याइएला भन्ने चिन्ता बढी छ ।

तेह्रथुमका किसानले लगाएको धान तथा कोदो पाकेर पहेँलपुर बनेको छ । बाली थन्क्याउन लागेको बेलामा असिनापानी आयो भने आफूले श्रम गरी उत्पादन गरेको बाली माटोमै मिल्ने उनीहरूलाई चिन्ता छ ।

उता, निर्वाचन नजिकिँदै जाँदा आफ्नो पक्षमा मतदान गर्न मतदाता रिझाउन उम्मेदवारको होडबाजी चलेको छ । उम्मेदवार गाउँगाउँमा पुगेका छन् भने किसान आफूले लगाएको बाली थन्क्याउन खेतबारीमा छन् । नेताहरू आफूलाई भेट्न आएको तर आफूहरू धान र कोदो काट्न र थन्क्याउन व्यस्त रहेको छथरगाउँपालिका–५ ओख्रेकी सिर्जना बस्नेतले बताउनुभयो ।

उम्मेदवार मतदाताकोे समस्यालाई समाधान गर्न पहल गर्ने आश्वासन दिँदै आफ्नो पक्षमा जित हासिल गर्न मतदातासँग मत माग्दै किसानको खेतबारीमा पुग्न थालेका छन् । यता घर–टोलमा उम्मेदवारले गर्ने गरेको निर्वाचनको भेटघाटमा नागरिकको सहभागिता विगतको जस्तो देखिएको छैन । उम्मेदवार भने मतदान गर्न अनुरोध गर्दै नागरिक समक्ष पुग्ने गरेका छन् ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रदेशसभा (१) र (२) मा उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्रमा भेटघाट र घरदैलोमा जुटिरहेका छन् । तेह्रथुममा विकास र समृद्धि ल्याउन आफूलाई जिताउन नागरिकलाई प्रतिनिधिसभाका उम्मेदवार तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले मतदातासँग अपिल गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि नेकपा ९एमाले०का उम्मेदवार विजय सुब्बाले जिल्लाको समग्र विकासका लागि इमान्दारीका साथ लाग्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । “जिल्लाको विकास र नागरिकको हक तथा जनहितसँग सम्बन्धित ऐनकानून निर्माणका लागि मेरो उम्मेदवारी हो”, उहाँले भन्नुभयो ।

गत निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा दुवै जितेको एमालेलाई यसपटक भने गठबन्धनका कारण चुनौती थपिएको छ । तेह्रथुममा एक स्वतन्त्रसहित नौ दलका प्रतिनिधिसभामा १० जना उम्मेरदवार रहेका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ७१ हजार नौ सय ३३ जना मतदाता रहेका छन् । जसमा ३६ हजार सात सय ९४ जना पुरुष र ३५ हजार एक सय ३९ जना महिला रहेका छन् ।

यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ३९ हजार एक सय २१ र प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा ३२ हजार आठ सय १२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया