पथरी, कात्तिक २० : युनाइटेड ब्रदर्स कालिङपोङ भारत बेलबारी गोल्ड कपको पहिलो खेलबाटै बहिरिएको छ । बेलबारीमा सुरु भएको पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा राजारानी धनकुटासँग पराजित भएको हो ।
मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा जारी प्रतियोगितामा राजारानी धनकुटाले ४–० गोल अन्तरले युनाइटेड ब्रदर्स कालिङपोङ भारतलाई हराउँदै अन्तिम चारमा आफूलाई सुरक्षित गरेको हो ।
राजारानी धकुटाको जीतका लागि खेलको ३५औँ मिनेटमा छिरिङ गुरुङले गोल गर्दै खाता खोलेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको युनाइटेड ब्रदर्स कालिङपोङले दोस्रो हाफमा सम्हालिन नसक्दा थप ३ गोल खान पुग्यो ।
दोस्रो हाफमा राजारानी धनकुटाका लागि खेलको ७४औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा दबाबमा रहेको युनाइटेड ब्रदर्स खेलमा फर्कन सकेन । थप गरिएको ६ मिनेटमा मनिष थापा र बुद्ध चेम्जोङले गोल गरेपछि राजारानीले खेल ४–० गोल अन्तर आफ्नो कब्जामा लियो ।
थापाले यमन लिम्बूले प्रहार गरेको बल भारतका गोलरक्षक रसिभ तामाङले पन्च गरेको बललाई सुन्दर गोलमा परिणत गरेका थिए भने बुद्धले ३५ याड टाढाबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।
खेलमा निकै राम्रा अवसर पाए पनि स्कोर निकाल्न नसक्दा युनाइटेड ब्रदर्स कालिङपोङले नतिजा रारा धनकुटालाई सुम्पनु परेको थियो । खेलको ‘म्यान अफ दी म्याच’ एपिएफका राजारानी धनकुटाका बुद्ध चेम्जोङ घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे । सोमबार आयोजक डाँगीहाट फुटबल क्लब र एपिएफ क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ ।
गोल्डकप कात्तिक १५ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरेर १० वटा टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले रु आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार नगद पुरस्कार पाउने डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताए ।
राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५र१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रु ३५ हजार पुरस्कारको व्यवस्था गरिएको बताए ।