सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

  कार्तिक १८, २०७९

काठमाडौं, कात्तिक १८ : काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ । पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी  भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते सोमबार काठमाडौं अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।

केन्द्रीय कारागार पठाइने
बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । जिल्ला अदालत, काठमाडौंले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आदेशसँगै उहाँलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनुभयो । ‘त्यही अनुसार उहाँलाई थुनामा पठाउने तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो । लामिछानेले ५ भदौमा होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको भन्दै २१ भदौमा एकजना नाबालिकाले प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी दिएलगत्तै प्रहरीले किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराएको थियो । लामिछाने चाहिँ त्यसबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमाइकामा थिए । पक्राउ पूर्जी जारी भएपछि उहाँलाई क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो ।

एक महिनासम्म अमेरिकामा लुकेका उनी अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएपछि आत्मसमर्पण गर्ने भन्दै २० असोजमा काठमाडौं फर्किनुभएको थियो । त्यसै दिन प्रहरीले लामछिानेलाई विमानस्थलबाटै पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया