डाँगीहाट युथ क्बल सेमिफाइनलमा

  कार्तिक १७, २०७९

पथरी, कात्तिक १७ : मोरङको डाँगीहाट युथ क्लब यहाँ जारी पाँचौँ बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । पाहुना टोली झापाको रोलिङ एफ सी धुलाबारीको लागि आयोजकका गोल किपर किशोर गिरी बाधक बनेका थिए । झापाको चुनौतीलाई आज आयोजकले टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

खेलको म्यान अफ दी म्याच आयोजकका गोलरक्षक किशोर गिरी घोषित भए । शुक्रबार सहलेस युथ क्लब सिरहा र क्यामरुनको एभिनीयर फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा गत वर्षको विजेता टिम सशस्त्र प्रहरी बल, रोलिङ एफ सी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगी हाट यूथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको वेस्ट बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस यूथ क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, युनाईटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजारानी फुटबल क्लबको सहभागिता छ ।

प्रतियोगिताको विजेताले रू आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न रु ५२ लाख ६१ हजार खर्च हुने तथा रु ६१ लाख ९० हजार आम्दानी हुने आयोजकको अपेक्षा रहेको डाँगीहाट युथ क्लबका प्रेस संयोजक नगेन्द्र बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया