मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने

  कार्तिक १५, २०७९

नुवाकोट, कात्तिक १५ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । यही कात्तिक १८ गतेदेखि मङ्सिर १ गतेसम्म वडास्तरमा नै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ । उक्त मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी कार्यन्वयनको लागि स्थानीय तह, जिल्लास्थित सरकारी कार्यलय, गैरसरकारी संस्था, नागरिक समाज तथा सरोकारवालासँग समन्वय र सहकार्य गनुपर्ने बताइएको छ ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटले आज सरोकारवाला निकायबीच मतदाता शिक्षासम्बन्धी बैठकको आयोजना गरेको थियो । उक्त बैठकले सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको लागि आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्था मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ अनुसार स्थानीय तहले गर्ने निर्णय गरिएको छ । वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकामध्ये एसइई-एसएलसी उत्तीर्ण गरेका वा वडास्तरको मतदाता शिक्षा सञ्चालन समितिको सदस्यमध्ये कुनै एक जना मतदाता शिक्षा स्वयंसेवकको रुपमा परिचालित हुनेछ ।

“स्थानीय तहको वडा ठूलो छ । एक जना स्वयंसेवकले मतदाता शिक्षालाई प्रभावकारी बनाउन असम्भव छ । स्वयंसेवकको सेवा सुविधा स्थानीय तहले नै व्यहोर्नुपर्ने भए पछि पालिकास्तरको मतदाता शिक्षा सञ्चालन समितिको निर्णयअनुसार स्वयंसेवक थप गर्न सक्छौँ”, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले भन्नुभयो, “मतदाता घरघरमा नभेटिन सक्छ । मेला, चोक, पसल जहाँ मतदाताको जमघट हुन्छ त्यस्तो स्थानमा पनि सामूहिक मतदाता शिक्षा सञ्चालन गर्नुपर्छ ।”

मतदाता शिक्षा सामग्री जिल्ला आइसकेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले बताउनुभयो । उक्त मतदाता शिक्षा सामग्रीलाई मतदातासमक्ष पु¥याइने उहाँको भनाइ छ । बदर मत कम गर्न र निर्वाचनमा मतदाताको सहभागिता बढाउन घरदैलोसहितको मतदाता शिक्षा कार्यक्रमको महत्व बढी रहेको छ ।

सबै स्थानीय तहमा नमूना मतदान

मतदाता शिक्षाअन्तर्गत रहेर जिल्ला निर्वाचन कार्यालय नुवाकोटले बाह्रवटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । स्थानीय तहसँगको सहकार्य र समन्वयमा नमूना मतदान कार्यक्रम सञ्चालन गरिने निर्वाचन अधिकारी जयप्रसाद गौतमले बताउनुभयो ।

बजार क्षेत्रमा नमूना मतदान कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी नभएको गुनासोलाई सम्बोधन गर्नुपर्ने तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला निर्वाचनमा नमूना मतदानस्थल बजार क्षेत्रलाई रोज्दा प्रभावकारी देखिएन ।

नमूना मतदानमा सामान्य नागरिकको सहभागिता कम भयो । जहाँ बदर मत बढी हुने गरेको छ, त्यस्तो स्थान पहिचान गरेर यस्ता कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।” नमूना मतदान कार्यक्रमले मतदातालाई सही तरिकाले मतदान गर्न सिकाउनुका साथै मतदानस्थल र मतदान केन्द्रलाई व्यवस्थित बनाउनसमेत सहयोग गर्नेछ ।

तपाईको प्रतिक्रिया