दुई सय मिटर दौडमा शिवराज र निशालाई स्वर्ण

  कार्तिक ०३, २०७९

गण्डकी, कात्तिक ३ : नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रङ्गशालामा आज सम्पन्न दौडमा पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१दशमलव९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । एपिएफकै आशिष चौधरीले २२दशमलव ०५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक हात पारे भने त्रिभुवन आर्मी क्लबका युवराज विकले २२दशमलव५० सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।

महिलातर्फ लुम्बिनीकी निशाले २५दशमलव२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । एपिएफकी रमिताकुमारी थारूले २५दशमलव९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६दशमलव५२ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।

पाँच हजार मिटर दौडमा एपीएफका गोपीचन्द्रलाई स्वर्ण
त्यस्तै एथलेटिक्सअन्तर्गत पाँच हजार मिटर दौडमा एपिएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । दौडमा निर्धारित दूरी १४ मिनेट २९दशमलव६७ सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण पदक हात पारेका हुन् ।

यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए । कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९दशमलव९३ सेकेन्डमा निर्धारित दुूरी पूरा गर्दै रजत पदक जिते भने त्रिभुवन आर्मीका मुकेश पालले निर्धारित दूरी १४ मिनेट ३६दशमलव६० सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।

तपाईको प्रतिक्रिया