रग्बीको स्वर्णपदक एपिएफ र महिलातर्फ आर्मीलाई

  कार्तिक ०२, २०७९

लेखनाथ, कात्तिक २ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लेखनाथको भण्डारढिकमा सञ्चालित रग्बीमा पुरुषतर्फको स्वर्ण पदक सशस्त्र प्रहरीको विभागीय टिम एपिएफले हात पारेको छ ।

आज भएको फाइनल खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरमा पछि पार्दै स्वर्णपदक जितेको हो । सेमिफाइनलमा आर्मीलाई ५–० अङ्कले पराजित गर्दै लुम्बिनी प्रदेश फाइनलमा प्रवेश गरेको थियो भने गण्डकी प्रदेशलाई १७–७ को अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा पुगेको थियो ।

पुरुषतर्फको कांस्यपदक भने गण्डकी प्रदेशले जितेको छ । गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा पछि पारेको हो । महिलातर्फको स्वर्णपदक त्रिभुवन आर्मीले जितेको छ । फाइनल खेलमा आर्मीले एपिएफलाई १०–० ले पछि पार्दै स्वर्ण पदक जितेको हो ।

आर्मीले मधेस प्रदेशलाई १७–५ अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने एपिएफले सुदूरपश्चिम प्रदेशलाई १०–० ले पराजित गर्दै फाइनलमा पुगेको थियो । कांस्यपदक भने सुदूरपश्चिमको पोल्टामा परेको छ । सुदूरपश्चिम मधेस प्रदेशलाई ५–० ले पराजित गर्दै कांस्यपदक जित्न सफल हुन पुग्यो ।

तपाईको प्रतिक्रिया