नवौँ राष्ट्रिय खेलकुद : गण्डकीका प्रदीप र एनआरएनका हाडा टेनिसको फाइनलमा

  कार्तिक ०१, २०७९

कास्की, कात्तिक १ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको व्यक्तिगत विधामा ‘पुरुष एकल’तर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र एनआरएनका आरभ सम्राट हाडा फाइनलमा पुग्नुभएको छ ।

नेपालको नं १ वरियताका टेनिस खेलाडी खड्काले आज सेमिफाइनलमा एपिएफका सन्तोष खत्रीलाई ६–१, ६–१ सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउनुभएको हो । यसैगरी एनआरएनका हाडाले सेनाका प्रनभ खनालमाथि ६–३, ६–० सेटको जीत निकाल्नुभएको हो । सेनाका खनाल नेपालको दोस्रो वरियताका खेलाडी हुनुहुन्छ ।

महिला एकलतर्फ नेपालको पहिलो वरियता खेलाडी अभिलाषा विष्टले सेमिफाइनलमा ६–०, ६–१ को सेटमा बागमतीका रायना शाहलाई पराजित गरी फाइनलको यात्रा तय गर्नुभयो । यसैगरी सेनाका इरा रावतले बागमतीका प्रकृति श्रेष्ठलाई ६–२, ७–५ को सेटमा पराजित गरी फाइनलमा अभिलाषासँगको भेट पक्का गर्नुभएको छ ।

‘पुरुषडबल्स’तर्फ गण्डकीका प्रदेशका प्रदीप खड्का र अनिल शाहीको जोडीले बागमतीका निशान श्रेष्ठ र प्रितम परियारको जोडीलाई ४–६, ६–० र १०–५ को सेटमा पराजित गरी फाइनल स्थान बनाउनुभयो ।

दोस्रो खेलमा सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीले गण्डकीका आशिष खड्का र सौगात विकको जोडीलाई ७–२, २–६ र १०–७ को सेटमा पराजित गर्यो । ‘मिक्सडबल्स’तर्फ सेनाका प्रनभ र अभिलाषाको जोडी फाइनल पुगेको छ । उहाँहरुले गण्डकीका अनिल र प्रिती बरालको जोडीमाथि ६–०, ६–१ सेटको जीत निकाल्नुभएको कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।

महिला डबल्स र मिक्स डबल्सका सेमिफाइनलका केही खेल सोमबार नै सम्पन्न भएका थिए । ‘पुरुष डबल्स’को स्वर्णका लागि गण्डकीका प्रदीप र अनिल तथा सेनाका प्रनभ र अकीको जोडीबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी ‘मिक्स डबल्स’ र ‘महिला डबल्स’को फाइनल बुधबार हुने आयोजकले जनाएको छ । यही असोज २७ गतेदेखि जारी टेनिसको प्रतिस्पर्धामा प्रदेश नं १ र कर्णालीबाहेक नौ प्रदेशको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया