पौडीमा आर्मीका नासीर हुसेन र दुवाना लामाले गरे कीर्तिमान कायम

  असोज ३१, २०७९

लेखनाथ, असोज ३१ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आज सम्पन्न पौडीमा आर्मीका नासीर हुसेन र दुवाना लामाले कीर्तिमान कायम गरेका छन् । नासीरले दुई सय मिटरको फ्रीस्टाइल र दुई सय मिटरको व्यक्तिगत मिड्लेमा दुई र दुवानाले ५० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

नासीरले दुई सय मिटर फ्रीस्टाइलमा आफ्नै नाममा रहेको एक मिनेट ५८ दशमलव ३० सेकेन्डको समयमा सुधार गर्दै एक मिनेट ५५ दशमलव ३९ सेकेन्ड र व्यक्तिगत मिड्लेमा दुई मिनेट ११ दशमलव ५८ सेकेन्डको समयमा सुधार गर्दै दुई मिनेट ११ दशमलव २३ सेकेन्डको समयमा पार गर्दै दुई राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

त्यस्तै दुई सय मिटर फ्रीस्टाइलमा आर्मीका अलेक्जेन्डर शाहले रजत र बागमतीका इरभिन श्रेष्ठले कास्य पदक जितेका छन् । व्यक्तिगत मिड्लेतर्फ एनआरएनका आशिष सापकोटा र बागमतीका सेरेन सिंहले रजत र कास्य पदक जितेका छन् ।

पचास मिटर ब्रेस्टस्टोकमा दुवानाले ३५ दशमलव २३ सेकेन्डको नयाँ कीर्तिमान कायम राखेकी छन् । एपीएफकी रोयल प्रजापतिले रजत र आर्मीकी उपास्ती महर्जनले कास्य जितेका छन् । महिलाको आठ सय मिटर फ्रीस्टाइलमा एनआरएनका एश्ले सापकोटा डङ्गोलले १० मिनेट ३० दशमलव ६४ सेकेन्ड समयमा पार गर्दै स्वर्ण जितेकी छन् ।

पुलिसका आर्या महर्जनले रजत र समिराशोभा थापामगरले कास्य पदक जितेका छन् । ५० मिटर ब्रेस्टस्टोकको पुरुषतर्फ प्रदेश १ का विकास कुमालले स्वर्ण जित्नु भएको छ । बागमतीका सेरेन सिंहले रजत र पुलिसका दिपङ्कर अवालले कास्य पदक जितेका छन् ।

महिलाको दुई सय मिटर फ्रीस्टाइलमा दुवानाले दुई मिनेट १४ दशमलव ४६ सेकेन्डमा साथ स्वर्ण जित्दा पुलिसका आर्या महर्जन र समिरा शोभा थापाले रजत र कास्य जितेका छन् । महिला एक सय मिटर ब्याकस्ट्रोकमा आर्मीकी गौरिका सिंहले स्वर्ण जितेकी छन् । उनले उक्त दूरी एक मिनेट ५ दशमलव ५० सेकेन्डमा पार गरेकी हुन् ।

एनआरएनकी एश्ले सापकोटा डङ्गोलले रजत र आर्मीकी अनुसिया तण्डुकारले रजत जितेका छन् । त्यस्तै पुरुषतर्फका एपीएफका तेञ्जिननामदोल रायन गुरुङले स्वर्ण जिते भने प्रदेश १ का प्रारम्भ भण्डारी र एपीएफका जाडेन श्रेष्ठले रजत र कास्य जितेका छन् ।

तपाईको प्रतिक्रिया