बाजुरा, असोज २० : बाजुराका अधिकांश महिलाहरू गिट्टी कुटेर नै जीविकोपार्जन गर्दै आएका छन् । गाउँमा महिलाहरूका लागि सहज हुने कुनै कामहरू नमिलेपछि उनीहरू खोलाको किनारमा बसेर गिट्टी कुट्न बाध्य छन् ।
बूढीगङ्गा नगरपालिका– १० की एकल महिला रामकली विकले, गाउँमा एकल महिलाका लागि कुनै रोजगारका कामहरू सञ्चालन नहुँदा अहिले गिट्टी कुटेर नै पेट पाल्ने गरेको बताउनुभयो । उहाँले भन्नुहुन्छ, स्थानीय तहले बर्सेनि गाउँमा महिला उत्थानका कार्यक्रमका सञ्चालन गर्दै आए पनि म जस्ता दर्जनौँ एकल महिलाहरू अहिले पनि गिट्टी कुट्नु परेको छ ।
विकका अनुसार गाउँका अधिकांश महिला दिदीबहिनीहरूको जीवन पहिले भन्दा अहिले झन् निकै कष्ठकर बन्दै गएको छ । जिल्लाका अधिकांश महिलाको क्षमता अभिवृद्धि विकास तथा हातमा गरी खाने केही सीप नभएपछि उनीहरूको जीवन पहिलेको भन्दा अहिले दयनीय बन्दै गएको विकले बताउनुभयो ।
जिल्लामा महिला उत्थानका कुरा भए पनि गाउँका महिलाहरूलाई भने गिट्टी कुटेर जीविकोपार्जन गर्नु परेको विकले बताउनुभयो । जिल्लामा महिलाहरूको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसरकारी संस्था र स्थानीय तहले गाउँमा एकल महिलाका लागि केही कार्यक्रम सञ्चालन गरेको भए पनि एकल महिलाको जीवन परिवर्तन हुने खासै कार्यक्रम ल्याउन नसकेको विकले बताउनुभयो ।
स्थानीय सरकारले प्रत्येक वर्षको गाउँ तथा नगर सभामा एकल तथा पीडित महिलाहरूलाई अनुकूल हुने कार्यक्रम ल्याउने प्रस्तावना राख्दै आएको भए पनि ती कुरा कागजमा मात्र सीमित हुने गरेका छन् ।
बाजुराका अधिकांश महिला अहिले भोको पेट पाल्नकै लागि खोलाको किनारमा दिनानुदिन गिट्टी कुट्दै आइरहेका छन् । स्थानीय सरकारले गाउँमा गौरवका योजनाहरू ल्याउने गरेको भए पनि ती महिलाहरूका लागि भने ती योजना हात्तीको देखाउने दाँत जस्तै हुने गरेका छन् ।
स्थानीय सरकारले गाउँमा सुरु गरेका भौतिक पूर्वाधार निमार्णका कामले अधिकांश महिलालाई गिट्टी कुट्ने काम त पाइन्छ, तर महिलाका लागि सहज हुने गाउँमा कुनै सीपमूलक कार्यक्रम भने ल्याउन सकेका छैनन् । स्थानीय महिलाहरूका लागि गाउँमा अहिलेसम्म कुनै रोजगारीका काम नमिलेपछि उनीहरू गिट्टी कुटेर घर खर्च चलाउँछन् ।
छेडे दह गाउँपालिका –५ का शान्ति विकले, गाउँमा पुरुषका लागि धेरै कार्यक्रम आउँछन् तर महिलाहरूका लागि भने कुनै पनि कार्यक्रम नआएको बताउनुभयो । उहाँले भन्नुभयो, स्थानीय सरकारले गाउँमा पूर्वाधार विकास ठुलो रकम लगानी गर्दै आएको भए पनि गाउँका महिलाले भने गिट्टी कुट्ने भन्दा अन्य कुनै काम नपाएको बताउनुभयो ।
गाउँमा सञ्चालन भएका पूर्वाधार निमार्णका कामले महिलाहरूलाई गिट्टी कुट्ने कामले घर खर्च चलाउन त सहज बनाए पनि उनीहरूको आर्थिकरुपमा परिवर्तन गर्न स्थानीय तहले कार्यक्रम ल्याउन सकेको छैन ।
हिउँद लाग्ने बित्तिकै बाजुराका अधिकांश महिला रोजगारीका लागि भारत जाने गर्दछन् । स्थानीय सरकारले ती महिलालाई सहज हुने गरी गाउँमै काम मिलाउनुको साटो उल्टै गरी खाने जमिन मास्ने गरी डोजर चलाउँछ । यसरी भएकै जमिनमा डोजर चलाएपछि नत गाउँमा विकास भएको देखिन्छ नत जमिन नै रहेको छ ।
गाउँमै काम गर्ने कुनै वातावरण नमिलेपछि ती महिलाहरूलाई छोराछोरीको पढाइ र घर खर्च चलाउन घर छोडेर विदेश जानुको अर्को केही विकल्प नभएको विकले भन्नुभयो,। गाउँमा भौतिक पूर्वाधारका काम सञ्चालनले गिट्टी कुट्ने काम पाउँदा महिलालाई पेट पाल्न केही सहज बनाए पनि ठुलो परिमाणको रोजगार भने कतै नमिलेको विकले बताउनुभयो ।
यता स्थानीय तहले भने एकल अपाङ्ग असहायको जीविकोपार्जनका सिलाई कटाइ ,बाख्रापालन तरकारी खेती लगायतका कृषि कार्यक्रम सुचारु गर्दै आएको बताउने गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।