काठमाडौं, असोज २० : नावालिग किशेरीलाई बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । आज बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा उहाँले कतार एअरवेजको विमानमार्फत त्रिभुवन विमानस्थलमा बिहान १० बजे आइपुग्ने जानकारी गराउनु भएको हो ।
यसबारे आफूले नेपाल प्रहरीलाई जानकारी गराइसकेको लामिछानेले जनाउनुभएको छ । उहाँले आफू निर्दोष रहेको र कानुनी प्रक्रियामा सरोकारवाला सबै निकायबाट निस्पक्ष न्यायिक छानबिन हुनेमा आफू आशावादी रहेको जनाउनुभएको छ । उहाँले आफूविरुद्ध लागेको अभियोगबाट निर्दोष सावित भइ छिटै फुटबल मैदानमा समाहित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेलिरहेकै अवस्थामा आरोप लागेपछि सन्दीप एकाएक सम्पर्कविहीन हुनुभएको हो । सन्दीपविरुद्ध भदौ २१ गते एक किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । सन्दीपको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध सिरिज खेल्न भदौ ६ गते केन्या प्रस्थान गरेको थियो । त्यसैको अघिल्लो दिन भदौ ५ गते सन्दीपेले आफूमाथि जबरजस्ती करणी गरेको उजुरी किशोरीले प्रहरीमा दिएकी थिइन ।
ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा सन्दीपसँग कुराकानी गर्ने गरेको र त्यसैको आधारमा भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको उल्लेख गरेकी छन् । किशोरीले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौंको गौशाला नजिक एक होटलमा लगेर आफूलाई लामिछानेले जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । प्रहरीले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइ सकेको छ ।
जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध भदौ २३ गते पक्राउ पुर्जीसमेत जारी गरेको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बलात्कार आरोपमाथि छानबिनमा सहयोग गर्न भदौ २३ गते नै सन्दीपलाई कप्तान र राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो ।
सन् २०१६ देखि नेपाली राष्ट्रिय टोलीमा पर्नुभएका सन्दीप इन्डियन प्रिमियर लिग, बिग बास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्न पाउने भाग्यमानी खेलाडी हुनुहुन्छ । कम उमेरमा खेलेरै करोडपति बन्नुभएका सन्दीपलाई क्यानले २०७८ साल मङ्सिर २९ गते कप्तान नियुक्त गरेको थियो ।