लेस्टर सिटीको पहिलो जित

  असोज १८, २०७९

काठमाडौं, असोज १८ : लेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेस्टरले नटिङघम फरेस्टलाई ४–० गोलले हरायो ।

एकपक्षीय खेलमा लेस्टरलाई जिताउन जेम्स म्याडिसनले दुई गोल गर्नुभयो । हार्भे वार्नेस र पाटसन डाँकाले एक एक गोल थप्नुभएको थियो । पहिलो हाफमा तीन गोल गरेको लेस्टरले दोस्रो हाफमा एक गोल गरेको थियो ।

२५औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । दुई मिनेट लगत्यै हार्भे बार्नेसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । ३५औं मिनेटमा जेम्स म्याडिसनले ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लेस्टरको अग्रता बलियो बनाउनुभयो ।

त्यसपछि ७३औं मिनेटमा अतिरिक्त खेलाडी पाटसन डाँकाले गोल गर्दै लेस्टरलाई सजिलै जिताउनुभयो । उहाँ ६२औं मिनेटमा जेमी भार्डीको स्थानमा मैदान प्रवेश गर्नुभएको हो ।

लिगमा पहिलो जितसँगै लेस्टरले चार अङ्क बनाएको छ । आठ खेल सकेको लेस्टर १९औं स्थानमा छ । पराजित नटिङघम समान चार अङ्कसहित अन्तिममा छ ।

लिगको शीर्षस्थानमा रहेको आर्सनलको २१ अङ्क छ । दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको २० र तेस्रो स्थानमा रहेको टोट्टनहामको १७ अङ्क छ ।

तपाईको प्रतिक्रिया