दशैँमा रङ्गिन काठमाडौं बजार

  असोज १५, २०७९

काठमाडौं, असोज १५ : देशको सङ्घीय राजधानीका सपिङ सेन्टर हिजोआज रङ्गिन छन् । दशैँ, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिली बनेको हो ।

सहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएका छन् । बजारमा डमी पिङ, लाइटले सझिइएको छ । साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरी बजारमा झिलिमिली बत्ती बालिएको छ ।

आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरू आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरू आफ्नो व्यवसाय प्रतिष्ठानलाई सझाएका हुन् ।

दशैँ लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसझाउ देख्न सकिन्छ ।  काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दशैँका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ ।

उपत्यकाबाट दशैँ मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दशैँ मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो । अर्कातिर यही बेला विदेशबाट दशैँ मनाउन आउनेहरू पनि छन् । यसले गर्दा नियमित रूपमा सञ्चालन भइरहेका सपिङ सेन्टर, होलसेल कपडा पसल तथा विभिन्न रूपमा दशैँ पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ ।

तपाईको प्रतिक्रिया