नेपालगञ्ज, असोज ५ : हिन्दुहरुको महान पर्व दशैँ नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका सयौं नेपाली चाडपर्व मनाउन नेपाल फर्किन थालेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली अहिले दशैं–तिहार मनाउन सो सङ्ख्यामा नेपाली स्वदेश फर्केका हुन् ।
लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका सयौं युवा अहिले नेपाल फर्किरहेकाले सीमामा भीड बढेको सीमास्थित जमुनाहा प्रहरीले जनाएको छ । दशैं नजिकै आइसकेकाले अहिले दैनिक तीन हजार बढी नेपाली भारतबाट रोजगारी गरेर घर फर्किरहेको जमुनाहा प्रहरी कार्यालयका प्रमुख माधव रिजालले बताउनुभयो ।
यसअघि सीमापारी र सीमानामै विभिन्न प्रकारका ठगी र लुटपाटमा नेपाली पर्दैआएकाले यसपटक दुबैतर्फ समन्वय गरेर कडा निगरानी बढाइएको उहाँले बताउनुभयो । सल्यान, दैलेख, सुर्खेत र जाजरकोटका सयौं युवा दिनहुँ भारतबाट नेपाल फर्किरहेका छन् । भारतको सिमला, कुल्लु मनाली र हरिद्वारबाट काम गरेर पर्व मनाउन फर्किएको जमुनाहाका प्रहरी प्रमुख रिजालले बताउनुभयो ।
रोजगारीका लागि भारतको सिमला पुगेका नरबहादुर थापासँगै दैलेखको ५० जना युवाको टोली दशैं मनाउन घर फर्किएको छ । वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दशैंमा सधैँ घर फर्किने गरेको थापाले बताउनुभयो ।
उहाँका अनुसार भारतको सिमलामा मजदुरी काम गर्ने सल्यानका मात्रै सयौं युवा छन् । तीमध्ये केही पहिले नै आइसकेको र अरु आउँदै गरेको उहाँले बताउनुभयो । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान लगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि हरेक वर्ष सयौं युवा पुग्नेगरेका छन् ।
घर फर्किने क्रममा जमुनाह नाकामा भेटिनुभएका जाजरकोट पाँचकाटियाका हरिबहादुर खत्रीले घरपरिवारलाई लत्ताकपडा र दशैं खर्च लिएर भारतबाट ३० जनाको टोली घर फर्किन लागेको बताउनुभयो । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने भएपछि लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या हरेक बर्ष बढ्दै गएको छ ।
फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाएर विशेष निगरानी शुरु गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।