काठमाडौं, भदौ ३१ : प्रतिनिधिसभाले विभिन्न विधेयकमाथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकबाट अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रस्तुत गर्नुभएको ‘बीमा विधेयक, २०७९’ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
यसैगरी, बैठकले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रस्तुत गर्नुभएको सो विधेयक बहुमतले स्वीकृत भएको हो । प्रतिनिधिसभाको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्नेछ ।