काठमाडौं, भदौ २२ : केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागी भएर बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
पाँच ट्वान्टी–२० र तीन एक दिवसीय शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधवार काठमाडौं फर्किएको हो। टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीहरूले स्वागत गरेका छन्।
नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको ट्वान्टी–२० शृङ्खला ३–२ ले जितेको थियो। यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो।
भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको नेपाली टोलीका उपकप्तान रोहितकुमार पौडेलले समग्रमा केन्या भ्रमण राम्रो भएको प्रतिक्रिया दिनुभयो। एक दिवसीय खेलमा कप्तानको जिम्मेवारी सम्हाल्नुभएका रोहितले नयाँ खेलाडीको प्रदर्शन राम्रो भएको र आउँदा दिनमा मध्यम अवस्थामा बलिङ र ब्याटिङमा अझै सुधार गर्नुपर्ने बताउनु भयो।
यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्लले केन्यासँगको शृङ्खला नयाँ र युवा खेलाडीका लागि अनुभव सँगाल्ने मौका भएको प्रतिक्रिया दिनुभयो।
नयाँ प्रशिक्षकको योजना अनुसार टोलीलाई अगाडि बढाउँदा नयाँ खेलाडीसँगै अन्य खेलाडीलाई पनि फाइदा पुग्ने बताउनु भयो। नेपाल फर्किएका खेलाडी अब नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि प्रदेश अनुसारको टोलीमा आबद्ध हुनेछन् ।
नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ भने पुरुष क्रिकेट भने भदौ २३ गतेबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदैछ ।