नवौँ राष्ट्रिय खेलकुद : कराँते र बुद्धिचालका खेलाडी छनोट

  भदौ १८, २०७९

कास्की, भदौ १८ : आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट ‘फुल कन्ट्र्याक्ट’ कराँतेतर्फ पुरुषतर्फ सात र महिलातर्फ पाँच खेलाडी छनोट भएका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यही भदौ १५ देखि सञ्चालन भएर आज सम्पन्न भएको भएको प्रदेशस्तरीय कराँते छनोट प्रतियोगिताबाट राष्ट्रिय खेलकुदका खेलाडी छनोट गरिएको हो ।

कराँतेमा छनोट हुन सफल खेलाडीमा पुरूषतर्फ ४० केजी तौल समूहमा कास्कीका अभिषेक तामाङ, ४५ केजीमा बागलुङका नारायण विक र ५० केजीमा कास्कीका अनिष बुढा मगर हुनुहुन्छ ।

यसैगरी ५५ केजीमा पर्वतका पासाङ तामाङ, ६० केजीमा कास्कीका मोशेस कुमाल र ६५ केजीमा कास्कीका शिव भुजेल र खुला तौल समूहमा कास्कीका रूपक नेपाली छनोटमा पर्न सफल हुनुभयो ।

यसैगरी महिलातर्फ ४० केजी तौल समूहमा स्याङ्जाका पुष्प कुँवर, ४५ केजीमा कास्कीका मेनुका अधिकारी, ५० केजीमा कास्कीका सरगम कुमाल, ५५ केजीमा तनहुँकी धनी रानामगर र खुला तौल समूहमा कास्कीका मेरिना गुरूङ छनोटमा पर्न सफल हुनुभयो ।

‘फुल कन्ट्याक्ट’ कराँतेका लागि संयोजकको जिम्मेवारी शिव गुरुङ र प्रशिक्षकको जिम्मेवारी सुवास खड्कालाई दिइएको थियो । प्रदेस्तीय कन्ट्याक्ट कराँते छनोट प्रतियोगिता प्रदेशका मनाङ र मुस्ताङबाहेक नौ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

छनोट भएका खेलाडी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बन्नेछन् । छनोट भएका खेलाडीका लागि केही दिनपछि बन्द प्रशिक्षण सञ्चालन गरिने प्रशिक्षक खड्काले बताउनुभयो ।

बुद्धिचाल प्रतियोगितामा पूजा र सविन प्रथम
यसैगरी गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगितामा पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे र महिलातर्फ कास्कीका पूजा भण्डारी प्रथम हुन सफल हुनुभएको छ ।

पुरुषतर्फ कूल पाँच राउण्डमध्ये चार राउण्डमा जीत र एक राउण्डमा बराबरी गर्दै साढे चार अङ्का साथ घिमिरे पहिलो बन्न सफल हुनुभयो । मुस्ताङका राजन पहाडी द्वितीय र बागलुङका लेखबहादुर थापाले तृतीय स्थान हासिल गर्न सफल हुनुभयो । पुरुषतर्फ २३ जना प्रतियोगीले भाग लिएका थिए ।

महिलातर्फ कास्कीका भण्डारीले पाँच राउण्ड खेलमा पाँचवटै खेल जित्दै प्रथम हुन सफल हुनुभयो । लमजुङका स्तुति खवास द्वितीय र बागलुङका झरना थापा तृतीय हुनुभयो । महिलातर्फ १३ जना खेलाडीले नाम दर्ता गराए पनि १२ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

बुद्धिचालमा कास्की, तनहुँ, बागलुङ, लमजुङ, मुस्ताङ, पर्वत, स्याङ्जा र नवलपुर जिल्लाले सहभागिता जनाएका थिए । नवौँका लागि बुद्धिचाल प्रतियोगिताको संयोजकको जिम्मेवारी ओमप्रसाद उपाध्याय र प्रशिक्षकको जिम्मेवारी शुक्रप्रसाद प्रधानलाई दिइएको थियो । छनोट हुन सफल खेलाडीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

तपाईको प्रतिक्रिया