काठमाडौँ, भदौ १६ : राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको अर्को बैठकमा पनि जारी रहने भएको छ ।
आजको बैठकमा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदको बोल्नेक्रम नसकिएकाले राष्ट्रियसभाको अर्को बैठकमा पनि छलफल जारी रहने जानकारी दिनुभयो । अर्को बैठक भदौ १७ गते शुक्रबार अपराह्न २ः ५९ बजे बस्नेगरी आजका लागि स्थगित भएको छ ।
उक्त विधेयकमाथिको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षी दलले नागरिकता विधेयकका सन्दर्भमा राजनीति गरेको आरोप लगाउनुभयो । अघिल्लो सरकारले अध्यादेश ल्याउँदा वैवाहिक अङ्गीकृत नागरिकताको विषय किन ल्याइएन भनी उहाँले प्रश्न गर्नुभयो । उहाँले त्यसको जवाफ दिन पनि माग गर्नुभएको छ । सांसद देवले अहिलेको विधेयक संविधानसम्मत रहेको पनि स्पष्ट पार्नुभयो ।
‘राष्ट्रहितलाई केन्द्रमा राखौँ’
राष्ट्रिय हितलाई केन्द्रमा राखेर मात्रै नागरिकताको विषयलाई अगाडि बढाउनुपर्ने सांसदहरूले बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ बारेमा आफ्नो धारणा राख्दै उहाँहरूले नागरिकता नपाएका नागरिकले नागरिकता पाउनुपर्ने धारणा राख्नुभयो । छलफलमा भाग लिँदै सांसद देवेन्द्र दाहालले सहमतिका आधारमा नागरिकता विधेयक पारित गरिनुपर्ने उल्लेख गर्नुभयो ।
सांसद राधादेवी भट्टले नागरिकताको विषयमा राष्ट्रपतिले गरेको पुनः विचारसम्बन्धी धारणाको विरोध गर्नुको कुनै औचित्य नभएको बताउनुभयो । विधेयकमा रहेका केही विषयमा प्रश्न उठेको उहाँको भनाइ थियो । सांसद विमला राई पौडेलले विधायन समितिमा प्रक्रिया पु¥याउनका लागि मात्रै विधेयकका सन्दर्भमा छलफल गराइएको जस्तो आफूले पाएको उहाँको भनाइ थियो ।
सांसद इन्दु कडरियाले नागरिताको जस्तो संवेदनशील विषयलाई हल्का ढङ्गले लिन नहुने धारणा राख्नुभयो । नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद विमला घिमिरेले राष्ट्रियहित, चासो र चिन्तालाई सम्बोधन गर्दै नागरिकता विधेयकलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । सांसद मोहम्मद खालिदले राष्ट्रियताको सन्दर्भमा प्रस्तुत नागरिकता विधेयकले कुनै पनि हानिनोक्सानी नगर्ने र विरोध गर्नुको औचित्य नभएको बताउनुभयो ।
सांसद गोपाल भट्टराई र तुलसाकुमारी दाहालले विधेयक ल्याउने सवालमा समेत प्रक्रिया नपु¥याइएको बताउनुभयो । सांसद इन्दिरादेवी गौतमले नागरिकताविहीनलाई नागरिकता दिने विषयमा समस्या नभएपनि यसलाई हलुका बनाउन नहुने बताउनुभयो ।