दमक, भदौ १६ : झापाको कमल गाउँपालिकामा भदौंको दोस्रो सातामा नयाँ अभ्यासको रुपमा धानको विउँ उत्पादनका लागि बीजी धानको रोपाइ सुरु भएको छ । क्यारिटास नेपालको सहकार्यमा सो गाउँपालिकाको वडा २ मा सामुहिक रुपमा धान लगाइएको कृषि प्राविधिक समेत रहनु भएका स्थानीय टंक कट्टेलले बताउनुभयो ।
आदिबासी सिमान्ताकृत समुदायलाई सहभागी गराएर बनाइएको सन्थाल उत्थान आइपीएम कृषक समुहमार्फत सो प्रयोगात्मक रुपमा ढिला धान लगाइएको उहाँले जानकारी दिनुभयो । “खेत बाँझो देखेपछि सोधखोज गरेर नयाँ प्रयोगको रुपमा धान रोप्ने काम भएको हो” कट्टेलले भन्नुभयो ।
यस धानको विउँ जेठ तथा असार महिनामा विउँ राखेर असार तथा साउन महिना रोप्ने र माघ तथा फागुनमा राखेर चैत, बैशाखमा रोपिने गरिन्थ्यो उहाँले बताउनुभयो । यो धान अब कात्तिक महिनामा काट्न सकिनेछ । किसानले धान काटेर बेमौसमी तरकारी समेत खेतमा लगाउन सक्ने भएकाले प्रभावकारी बन्न सक्ने उहाँको भनाइ छ ।
अहिले साउन महिनामा विउँ राखेर भदौं महिनामा रोपिएको र सफल भएमा यो जातको धान तीन बालीसम्म लगाउन सकिने पनि कट्टेलले बताउनुभयो । “सफल भयो भने हामी सहजै तीन बालीसम्म धान फलाउन सक्छौं” उहाँले भन्नुभयो । केही समय यता झापामा तीन बाली धान लगाउनेक्रम बढ्दैगएको छ ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा ९९ प्रतिशत धान रोपाइ भएको छ । ८७ हजार ५०० हेक्टरमा धान खेती हुँदैआएकोमा यो बर्ष ८६ हजार ६ सय २५ हेक्टरमा धान रोपाइ भएको छ । उहाँका अनुसार पछिल्लो समय जिल्लामा दूईदेखि तीन बाली धान लगाउनेक्रम बढ्दो क्रममा रहेको छ ।