काठमाडौं, भदौ ८ : पाँच खेलको ट्वान्टी-२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार (आज) अपरान्ह घरेलु टोलीसँग पहिलो ट्वान्टी-२० खेल खेल्दैछ ।
नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको आतिथ्यता खेल्न लागेको हो । खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजेबाट सुरु हुनेछ । विश्व क्रिकेट लिग-२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो।
साथै युवा र नयाँ खेलाडीले भरिएको टोलीलाई केन्या भ्रमण एक्स्पोजरको रुपमा पनि हेरिएको छ भने पहिलो भ्रमणमा निस्किएका प्रशिक्षक मनोज प्रभाकारको पनि अग्नि परीक्षाको रुपमा हेरिएको छ।
पाँच खेलको टी-ट्वान्टी सिरिजका लागि केन्या पुगेको नेपाली टोली बिहीबार सुखद् सुरुवातको योजनामा हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेले बुधवार आयोजित प्रि-म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताएका छन्।
वरियताको ३० औं स्थानमा रहेको केन्या नेपालका लागि सहज प्रतिद्वन्द्वी रुपमा हेरिएको छ । पछिल्लो पटकको दुई भेटमा नेपालले केन्यालाई हराएको छ। तर, केन्या पनि नेपाललाई हराएर सुखद् सुरुवातको योजनामा रहेको छ। केन्याका कप्तान शेम एनगोचेले नेपाललाई हराएर वरीयता सुधार गर्ने योजनामा रहेको बताए ।
पाँच खेलको सिरिज अन्तर्गत दोस्रो ट्वान्टी-२० भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम ट्वान्टी-२० भदौ १४ गते हुने तालिका छ । ट्वान्टी-२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।