जनकपुरधाम, साउन २७ : जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ ।
सो कार्यालयले आव २०७८-७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात रु २६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ ।
जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८÷७९ मा भन्सार महसुलतर्फ रु १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु नौ करोड ७४ लाख ५९ हजार, अन्तःशुल्कतर्फ रु ३७ लाख २७ हजार र बोलपत्र आयाततर्फ रु सात लाख १५ हजार राजस्व सङ्कलन गरेको छ ।
आव २०७७-७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व सङ्कलन भएको थियो । आव २०७७-७८ मा रु ५३ करोड ५१ हजार ५७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ४४ करोड ५९ लाख ७१ हजार सङ्कलन भएको थियो ।
भन्सार कार्यालयका अनुसार आव २०७७-७८ मा भन्सार महसुलतर्फ रु २१ करोड ७७ लाख ८२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु २२ करोड ३३ लाख ८ हजार, अन्तःशुल्कतर्फ रु ३० लाख ६२ हजार र सडक निकासी दस्तुरतर्फ रु १८ लाख १८ हजार राजस्व सङ्कलन भएको थियो ।
थुप्रै सामान आयातमा लगाएको प्रतिबन्ध, बैंकिङ माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था, बाटोको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, स्थानीय तहको निर्वाचनलगायतका कारणले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकिएको कार्यालय प्रमुख दासले बताउनुभयो ।
जिल्लामा मुख्य भन्सार कार्यालय एक र छवटा छोटी भन्सार कार्यालय छन् । जटही, इनर्वा र अररियास्थित छोटी भन्सार मात्र सञ्चालनमा छन् । खजुरी, महुवा र महिनाथपुरस्थित छोटी भन्सार कार्यालय हाल बन्द रहेको कार्यालयले जनाएको छ ।