हुुम्ला, साउन २० : कोरोना अघि ६ महिनाका लागि चीनको ताक्लाकोट जानुु भएका हुुम्लावासीको फुुरु (काठको भाँडा) ब्यापार फस्टाउदै गएको छ । कोरोनाको कारण हिल्सा नाका बन्द हुँदा अन्य ब्यापारी जान नपाउने र उतै रोकिनुभएका ब्यापारी थोरै भएपछि फुरु ब्यापारबाट कमाई राम्रो भएको व्यापारीको भनाइ छ ।
दुई वर्षदेखि चीनको पुराङ काउण्टीको ताक्लाकोटमा फुुरु ब्यापार गर्दै आउनुुभएका ब्यापारी ठोक्याल लामाले अहिले दैनिक एक लाख रुपियाँ कमाई हुनेगरेको बताउनुभयो । २०७६ को जेठ महिनामा उहाँ लगायतको टोली ताक्लाकोटमा ब्यापार गर्न जानुभएको थियो । सो वर्ष कात्तिक महिनामै हिमपात भएको कारण उहाँ लगायत १४७ जना हुम्लावासी फर्कन पाउनु भएन । लगत्तै कोरोना सुरु भएको थियो ।
ताक्लाकोटबाट हुम्ला फिर्ता आउन नपाउने भएपछि फुुरु ब्यापारतर्फ लागेको लामाले बताउनुभयो । एउटा राम्रोखाले फुरुको मुल्य दशदेखि ४० हजारसम्म पर्ने उहाँको भनाइ छ । नाका बन्द भए पनि ब्यापार राम्रो भएको कारण सबै ब्यापारी खुसीले ताक्लाकोटमा बस्दैआएको बताउनुुभयो । ९८ जना हुम्लाका ब्यापारीले यो ब्यापार गर्दैआएको उहाँले जानकारी दिनुभयो ।
सबै नेपालीको ब्यापार जोड्दा दैनिक डेढ करोडसम्म कमाई हुन्छ उहाँले भन्नुभयो । सबैको कमाई राम्रो भएको कारण सिमकोटदेखि सुर्खेत र काठमाडौंमा घरघडेरीको ब्यवस्था गर्न ब्यापारी सफल भएको बताउनुभयो । ताक्लाकोटमा रोकिएकामध्ये ४९ जनाले मजदुरी काम गर्दै आउनुभएको उहाँले बताउनुभयो ।