गलकोट, साउन १७: बागलुङको पश्चिम क्षेत्र ढोरपाटनमा रहेको बुर्तिवाङ प्राथमिक स्वस्थ्य केन्द्रबाट पहिलो पटक विशेषज्ञ सेवा दिन थालिएको छ । पश्चिम क्षेत्रको निसीखोला, ढोरपाटन र तमानखोला गरी तीन पालिकाका जनतालाई स्वास्थ्य सेवा दिइरहेको प्राथमिक स्वस्थ्य केन्द्रले पहिलो पटक साउन १ गतेदेखि विशेषज्ञ सेवा दिन थालेको छ ।
स्वास्थ्यकेन्द्रले पछिल्लो पटक दरबन्दी भन्दा बढी जनशक्ति परिचालन गरी स्वस्थ्य सेवा दिँदै आएकोमा अवदेखि विशेषज्ञ सेवासमेत दिन थालेको हो । प्राथमिक स्वस्थ्य केन्द्रमा हालसम्म चारजना मेडिकल अधिकृत कार्यरत रहेकोमा साउन १ गते देखि जनरल फिजिसियन डा डिबी क्षेत्री हाजिर भएर सेवा दिन थाल्नुभएको छ ।
स्वास्थ्य केन्द्रमा अहिले बिरामीको चाप उच्च रहेकाले भएका जनशक्तिले समेत सेवा दिन हम्मेहम्मे परिरहेको अवस्थामा विशेषज्ञ सेवा दिन थालिएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डा नीरज सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार एक जना विशेषज्ञ सेवासहित एनेस्थेसिया र स्टार्फ नर्स गरी तीन स्वास्थ्यकर्मी दुर्गमको स्वास्थ्य उपचारमा काम गर्दै आएको गैरसरकारी संस्था निक साइमण्ड इन्स्टिच्युटले व्यवस्थापन गरेको हो ।
इन्स्टिच्युटले गत आर्थिक वर्षमा शल्यक्रियाका लागि समेत रु १० लाख बराबरको उपकरण सहयोग गरिसकेको छ । “ इन्स्टिच्युट नेपाल सरकारको समन्वयमा दुर्गम क्षेत्रको स्वास्थ्य सुधार, तालिम तथा अनुसन्धानमा रहेको संस्था हो, एक महिनाभित्रै अझै एक डाक्टर र एक रेडियोग्राफर थप गर्ने निश्चित् भइसकेको छ”, डा सुवेदीले भन्नुभयो “प्राथमिक स्वास्थ्य केन्द्रले हालसम्म दिइरहेको सेवा तथा उपकरणमा स्तरोन्नति भएको छ, दुर्गमका नागरिकले केही हदसम्म भए पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो, खासगरी दुर्गममा आइपर्ने जटिल स्वस्थ्य समस्या र शल्यक्रियाको प्रर्वद्धनका लागि निक साइमण्डले उपकरण र जनशक्ति व्यवस्थापन गर्नमा जुटेको छ ।”
इन्स्टिच्युटले तलब व्यवस्थापन गर्ने गरी जनरल फिजिसियन डा क्षेत्रीसँगै एनेस्थेसिया कुशलराज भट्टराई र शल्यक्रियाको तालिम प्राप्त स्टाफ नर्स जानकी डाङ्गीलाई साउन १ गतेदेखि स्वास्थ्य केन्द्रमा सेवा दिन पठाएको हो । स्वास्थ्य केन्द्रले सामान्य प्रकारका सबै शल्यक्रिया गर्नसक्ने जनशक्ति र उपकरण व्यवस्थापन गरेको छ ।
बुर्तिवाङ स्वास्थ्य केन्द्रले हालसम्म शल्यक्रियामार्फत सुत्केरी, वहिरङ्ग, आकस्मिक, गर्भवती, शल्यक्रिया, प्रयोगशाला, फार्मेसी, दन्त, आँखा रोगको उपचारसँगै एक्सरे र पोष्टमार्टम सेवा समेत प्रदान गर्दै आएको छ । “सेवा त हालसम्म दिइरहेका छाँै, तर जटिल समस्या आउँदा नजिकमा अस्पताल नहुँदा हेलिकप्टरबाटै बिरामीलाई बाहिर पठाउन बाध्य थियौँ, तर विशेषज्ञ सेवा दिएपछि जटिल प्रकारका सेवासमेत दिन सक्नेछौँ”, डा सुवेदीले भन्नुभयो ।
उहाँले निक साइमण्डले पठाउने भनेको थप दुई जना स्वास्थ्यकर्मी आएपछि अस्पतालले बिरामी भर्ना नै गरेर राख्न सक्ने गरी सेवा दिने योजनामा स्वास्थ्य केन्द्र रहेको छ । विशेषज्ञ सेवा दिन थालेपछि शल्यक्रियमार्फत सुत्केरी, हाइड्रोसिल, हर्निया, एपेन्डिक्स र सामान्य हड्डीको शल्यक्रिया सेवा थप भएका छन् । निक साइमण्डले व्यवस्थापन गरेको बाहेक स्वास्थ्य केन्द्रमा अहिले डा सुवेदीसहित मेडिकल अधिकृत डा अनिश थापा, डा अमृता बराल र डा अनिल केसी कार्यरत रहेका छन् ।
पछिल्लो समय सेवामा सुधार गर्दै आएको स्वास्थ्य केन्द्रले भौतिक पूर्वाधार पर्याप्त भए पनि स्वास्थ्य केन्द्रबाट स्तरोन्नति गर्न सकिरहेको छैन । बागलुङमा हाल जिल्ला अस्पताल छैन । बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर जिल्ला अस्पताल बनाउनेगरी भौतिक पूर्वाधार निर्माण भए पनि स्तरोन्नति हुन नसक्दा स्वास्थ्यकेन्द्रकै दरबन्दीमा सेवा दिन बाध्य छ ।
तर स्वास्थ्य केन्द्रमा आउने बिरामीको चाप र भौगोलिक विकटता र यसले प्रदान गर्ने स्वास्थ्य सेवा तीन पालिकामा रहेकाले करारमा भए पनि अतिरिक्त चिकित्सकले सेवा दिइरहेका छन् ।