जलेश्वर, साउन १३ : महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८-७९ को साउनदेखि असार मसान्तसम्ममा रु एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
भन्सारले सो अवधिमा तीन अर्ब नौ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीले जानकारी दिनुभयो । जलेश्वर भन्सारले पैठारी महसुलतर्फ रु एक अर्ब ११ करोड ८२ लाख ७ हजार लक्ष्य लिएकोमा एक अर्ब ८६ करोड ३९ लाख २४ हजार सङ्कलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धितर्फ रु ४३ करोड ५२ लाख सङ्कलन गर्ने लक्ष्य लिएकोमा ९४ करोड ७६ लाख ४१ हजार सङ्कलन गरेको छ ।
त्यसैगरी अन्तशुल्क तर्फ रु पाँच करोड ३१ लाख ६९ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा चार करोड ८१ लाख ३४ हजार सङ्कलन गरेको छ । र त्यसैगरी अन्यतर्फ १० करोड ५ लाख एक हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा २३ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।
सो भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८-७९ मा जम्मा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु तीन अर्ब ९ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।