काठमाडौँ, साउन १० : प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गर्नुभएको छ ।
बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन बनिनसकेको र भएको पनि प्रभावकारीरुपमा कार्यान्वयन नभएको अवस्थामा मुलुकमा व्यापक कर छली र भ्रष्ट्राचार बढिरहेको सन्दर्भमा समष्टिगत मूल्यप्रणाली कमजोर रहेको विज्ञहरुले औँल्याइरहेको भन्दै वास्तविकता सार्वजनिक गर्न आग्रह गर्नुभयो ।
फाइनान्सियल एक्सन टाक्सफोर्ससँग सम्बन्धित एसिया प्यासिफिक ग्रुप अन मनिलन्ड्रिङको नेपाल सदस्य हो । इपिजीको परस्पर मूल्याङ्कन आगामी अक्टोबर नोभेम्बरमा हुने सुनिएको र यस्तो मूल्याङ्कन मूलतः हाम्रो कानुनी व्यवस्था र कार्यान्वयन र यसको प्रभावकारिताका आधारमा गरिने भएकाले नेपाललाई कालोसूचीमा पर्न नदिन बेलैमा तयारी गरिनुपर्ने सांसद थापाको भनाइ छ ।
सांसद थापाले कालोसूचीमा परे विप्रेषण र आयातमा निर्भर नेपालजस्तो मुलुकको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने एलसी खोल्न नपाउने अवस्था आउन नदिने गरी तयारी गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “मूल्याङ्कनका ४० सूचकाङ्कमा नेपालको अवस्था के छ, विज्ञहरुले आशङ्का गरेको जस्तो कालोसूचीमा पर्न नदिन सरकारले के कस्तो तयारी गरिरहेको छ, त्यो सदनलाई जानकारी गराउन माग गर्दछु ।”