हेटौँडा, साउन ९ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पछिल्लो समय देशभर कोभिड–१९ को सङ्क्रमणसँगै प्रदेशमा गर्मी तथा वर्षायाममा देखापर्ने सङ्क्रामक रोगको पनि जोखिम रहेको बताउनुभएको छ ।
आज बागमती प्रदेशसभाको बैठकमा सार्वजनिक महत्वका विषयमा मन्त्री लामाले रोकथामको तयारीका साथै प्रदेशमा सचेतना फैलाउन ध्यान दिनुपर्ने बताउनुभएको हो ।
उहाँले हालै काठमाडौँ उपत्यका तथा अन्य केही सहरमा झाडापखालाको प्रकोप देखिएको र परीक्षणका क्रममा हैजासमेत देखिएको बताउनुभयो ।
उहाँले पछिल्लो जानकारीअनुसार ३४ जनामा हैजा देखिएकामा पाँच वर्षसम्मका बालबालिका तीन जना रहेको जनाउनुभयो । हाल प्रदेशमा दैनिक २३४ जनामा कोरोना सङ्क्रमण भइरहेको जनाउनुभयो ।
मन्त्री लामाले सङ्क्रमण दर नियन्त्रण गर्नका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कोभिडविरुद्धको खोप अभियान तीव्ररुपमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि खोपको साथसाथै आम नागरिकमा सचेतना फैलाउन अति आवश्यक रहेको बताउँदै सम्पूर्णमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न र कोभिडविरुद्धको खोप लगाउन अनुरोध गर्नुभयो ।
यसैगरी मन्त्री लामाले विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्स रोगलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्काल घोषणा गरेको बताउँदै नेपालमा पनि उक्त रोग आउन सक्ने भन्दै तयारी अवस्थामा रहन आवश्यक रहेको बताउनुभयो ।
उहाँले सङ्क्रामक सरुवा रोगको समयमै पूर्वतयारीका साथ रोकथाम तथा नियन्त्रणका उपाय अपनाउन पर्ने बताउनुभयो । मन्त्री लामाले कोभिड–१९ र मङ्कीपक्स जस्ता विश्वव्यापी महामारी र हैजा, डेँगु, स्क्रबटाइफस आदि जस्ता मौसमजन्य एवं फैलदो रोगको समयमै रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि सङ्घीय सरकार तथा स्थानीय सरकारसँगको समन्वयमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय पूर्णरुपमा तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।