उपचारका लागि विदेश जाने क्रम हटाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

  साउन ०८, २०७९

ललितपुर, साउन ८ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न विदेश जाने क्रम हटाउनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ महामारी तथा जनस्वास्थ्यका विषय’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकमै सञ्चालित स्वास्थ्य संस्थामा आवश्यक उपचार पाउनुपर्ने व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो ।

“यहाँ अन्य मुलुकको तुलनामा राम्रो उपचार सेवा प्रदान गरिन्छ भन्ने कुरा सम्पूर्ण नेपालीको मनस्थितिमा जगाउन जरुरी छ । अन्य देशमा उपचार सेवा लिन जाँदा रकम बाहिरिन्छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।

आम नागरिकले आफ्नो स्वास्थ्यमा ध्यान दिन र कोभिड–१९ सङ्क्रमणबाट बच्न विगतमा झैँ अनिवार्य रुपमा मास्क प्रयोग तथा खोप लगाउन जरुरी रहेको उहाँको धारणा थियो ।

समितिका सभापति दिलकुमारी रावल थापाले स्वस्थ्य नागरिक तथा सबल राष्ट्र निर्माणका लागि आम नागरिकले उतरदायित्वका साथै जवाफदेहिताको पालना गर्न जरुरी रहेको बताउनुभयो ।

यस्तै स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले सन् २०३० सम्ममा मुलुकमा १५ देखि २० हजार स्वास्थ्यकर्मी आवश्यक रहेको उल्लेख गर्दै यसका लागि मन्त्रालय अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता एवं प्रमुख विशेषज्ञ डा सङ्गीता मिश्रले आगामी दिनमा अभाव हुने स्वास्थ्य जनशक्ति व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले दुई हप्ताअघिदेखि मुलुकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्न सबैमा अनुरोध गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रमुख डा राजेश संभाजीराव पाण्डवले मुलुकमा देखिएको हैजा नियन्त्रणका लागि गुणस्तरीय खानेपानीको व्यवस्थापनमा ध्यान दिन अपिल गर्नुभयो ।

तपाईको प्रतिक्रिया