–गोपालप्रसाद बराल, महोत्तरी, साउन ८ : महोत्तरीका प्राचीन सम्पदा संरक्षण नपाएर सङ्कट झेल्दैछन् । अहिलेको मधेस प्रदेशमा पर्ने प्राचीन मिथिला क्षेत्रका पवित्र मानिने यहाँका धार्मिक र पुरातात्विक महत्वका सम्पदा संरक्षण नपाएरै खण्डहर बन्दै गएका छन् ।
उत्तरमा चुरे पहाडी क्षेत्रको मनोरम वनक्षेत्र, दक्षिणमा मित्रराष्ट्र भारतसँगको सीमा पूर्वमा रातु, बडहरी, बिगही नदी र कैयन ठाउँ सडक, कुलोले धनुषासँग सीमा छुट्याएको र पश्चिममा बाँके नदीसम्मको जिल्लाको भूभागमा अवस्थित कैयन प्राचीन सम्पदा छन् । यी प्राचीन सम्पदाबारे तीनै तहका सरकार बेखबर हुँदा यिनीहरूका अवस्था रुग्ण बनेको हो ।
जिल्लाको सुदूर उत्तरवर्ती बर्दिबास नगरक्षेत्रमै कैयौँ प्राचीन सम्पदा छन् । बर्दिबास–३ राईमण्डल यस्तै प्राचीन धार्मिकस्थलमध्येको एक हो । परापूर्वकालमा स्वर्गका राजा इन्द्रले भगवान शिवको तपस्या गरेका मानिने यो ठाउँ भव्सी नदी र चुरे पाहाडका शृङ्खलाका काखमा छ । यो राईमण्डल धार्मिक क्षेत्रमा पहाडको पाखामा धार्मिक मान्यताका देवीदेवताका मूर्ति कुँदिएका छन् ।
पाखाकै खापमा परेवाको सघन बसाइँले जोसुकै नवआगन्तुकको मन खैचन्छ । तल फाँटमा स्वर्गका राजा इन्द्रले स्थापना गरेका विश्वास गरिएको इन्द्रेश्वर महादेव मन्दिर छ । यो ठाउँमा सम्पदाको संरक्षण, विकास र पर्यटकीय सम्भावनाबारे सङ्घीय र प्रादेशिक सरकारमात्र नभएर स्थानीय सरकार नै बेखबर रहेको राईमण्डलका बासिन्दा बताउँछन् ।
त्यसैगरी बर्दिबास–५ को मरहा नदी किनारमा चुरे पहाडी शृङ्खलाको थुम्कामा टुटेश्वरनाथ शिव मन्दिर अवस्थित छ । “प्रकृतिले हामीलाई नदिएको हैन नि…! पहाड, कन्दरा, नदी, मनोरम सघन वन र धार्मिक परिचय, सबैछन् हाँमीसँग छ” बर्दिबास–५ टुटेश्वरकै बासिन्दा भुवन महत भन्नुहुन्छ, “हामीले तिनको संरक्षण भने गर्न सकेनौँ ।”
बर्सेनि नेपाल र भारतका लाखौँ भक्तजन दर्शनका लागि आउने टुटेश्वरधाम अब संरक्षण र सम्वद्र्धन हुन नसक्दा रुग्ण खण्डहर बन्दै गरेको महतको भनाइ छ । यसबाहेक बर्दिबास–४ माइस्थानमा अति प्राचीन देवी शक्तिपिठ पञ्चधुरा माई मन्दिर छ । यी सबै धार्मिक सम्पदा वास्ताका नजरले ओझेलमा परेका बर्दिबास नगरवासी बताउँछन् ।
माइस्थानको माई मन्दिर परिसरको मनोरम तलाउ केही वर्ष पहिले त्यहाँ पुगेका श्रद्धालुको आँखामा नाचिरहेकै हुन्छ । तलाउ भरिएर वनतिर बगेको कञ्चन पानी, जतिखेर पनि ढकमक्क फुलेका देखिने कमल, एक दशकअघिसम्म माई मन्दिरमा देखिने यी खास परिचय थिए । तर अहिले त्यहाँ पुग्ने पुराना श्रद्धालुलाई फरक ठाउँ आइएछ कि भन्ने भ्रम हुन्छ ।
न तलाउमा पानी…! न ढकमक्क कमल…! यी मात्र नभएर अहिले जिल्लाका सबैजसो पुराना ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिकस्थल अब अस्तित्वको सङ्कट झेल्दैछन् । कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण मानिने प्राचीन मिथिलाको परिचय बोकेका धार्मिकस्थल समुचित संरक्षण र मर्मतसम्भार नहुँदा अब अस्तित्व सङ्कटको स्थितिमा पुगेका हुन् । हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल अब खास पर्वमा सम्झना गरिए पनि तिनको संरक्षणमा कतैबाट पहलकदमी नदेखिएपछि अस्तित्व लोप हुने स्थिति बनेको हो ।
जिल्लामा हिन्दू परम्पराका मठ, मन्दिर, इस्लाम परम्पराको रौजामजार र बौद्ध परम्पराका गुम्बा छन् । जिल्लाका यी पुरातात्विक महत्वका स्थलको संरक्षण-सम्वद्र्धन हुन नसक्दा क्रमशः खण्डहर बन्दै जाने स्थिति बनेको आम टिप्पणी सुन्ने गरिएको छ । प्राचीनकालदेखिका प्रसिद्ध शिवालयमा साउन महिना र महाशिवरात्रीका अवसरमा लाखौँ श्रद्धालुको भीड लाग्ने गरेको छ ।
जिल्ला सदरमुकाम जलेश्वरस्थित श्रीजलेश्वरनाथ, बर्दिबास–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ, भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित श्री सिद्धनाथ र सोनमा–१ मगरथानास्थित श्री मङ्गलनाथ आदिकालमै स्थापित प्राचीन शिवालय मानिन्छन् । यीमध्ये जलेश्वरनाथमा मन्दिर मर्मतसम्भारको काम थालिए पनि वर्षौँ बितिसक्दासम्म काम सम्पन्न हुन नसकेको जलेश्वरवासी बताउँछन् । त्यसैगरी टुटेश्वरनाथ महादेव मन्दिरले मर्मतसम्भार नपाएको वर्षौँ बितिसकेको त्यहीँकै बासिन्दाको भनाइ छ ।
त्यस्तै अति प्राचीन श्रीसिद्धनाथ महादेव मन्दिर रातु र बडहरी नदीको बगरमै मिसिसक्दा पनि कोही हेर्ने नभएका सिद्धपुर बस्तीका परेखन सादा बताउनुहुन्छ । जिल्लामा प्रसिद्ध धार्मिकस्थलको कुरा उठ्दा बलवा नगरपालिका–३ पडौलस्थित कारिख महाराजस्थान, बलवा–१० स्थित ध्रुवकुण्ड, भङ्गाहा–९ हरिहरपुर कञ्चनवनस्थित रामजानकी विहार र रामसीताको विवाहमा बेदी (विवाह मण्डप) बनाउन माटो खनिएको ठाउँ मटिहानीस्थान मुख्य हुन् ।
यस्तै रामगोपालपुरको विशाल सौतिनियाँ पोखरी, रामायणकालकै पितृमात्रीभक्त श्रवणकुमारका नेत्रविहीन बाबुआमा बस्ने ठाउँ मानिएको लोहारपट्टी नगरपालिकाको बगडास्थित अन्धाअन्धीस्थान र पिपरा गाउँपालिकाको बनौलीदनौलीस्थित मैथिली भाषाका महाकवि विद्यापतिको किल्ला मानिएको विद्यापति गढमध्ये धेरैजसो अहिले समुचित सम्भार र संरक्षण नपाउँदा बेवारिसे जस्तै बनेका छन् । यी प्राचीन सम्पदामध्ये रामसीताको विवाहमा बेदी बनाउन माटो खनिएको मानिने मटिहानी–७ स्थित लक्ष्मीसागर भने मटिहानी नगरपालिकाले मर्मतसम्भारसँगै रङरोगन गरेपछि अहिले झकिझकाउ देखिन्छ ।
“यदाकदा यी सम्पदाको संरक्षण र विकासका नाउँमा योजना बनेका कुरा सुनिन्छन्”, लोहारपट्टी–४ खुट्टा वरःटोलका बासिन्दा सामाजिक तथा राजनीतिक कार्यकर्ता नागेन्द्र चौधरी भन्नुहुन्छ, “योजना भने स्थलमा नभएर सायद कागजमै टुङ्गिने गरेका छन् ।” जनताले प्रयास थालिएछ है भन्ने अनुभूति गर्नेगरी लक्ष्मीसागरबाहेक कतै नहुँदा निरासा छाएको चौधरीको भनाइ छ ।
यसबाहेक औही नगरपालिकाको भोइलस्थित सोनामाई मन्दिर, जलेश्वर नगरक्षेत्रका भार्गव ऋषि आश्रम र भार्गवसर, सन्सारी माई मन्दिर, राजदेवी मन्दिर र जिल्लाकै अन्हेरबाट मन्दिर अतिप्राचीन धार्मिक धरोहर हुन् । जलेश्वर नगरक्षेत्रका अति प्राचीन धार्मिक महत्वका पवित्र मानिने भार्गव सर (तलाउ), पुरन्दर र वरुण सर सम्भार नहुँदा अब नगरभरिको फोहर थुप्रिने ठाउँ बनेका जलेश्वर–५ का बासिन्दा नेपाली कांग्रेस महासमिति सदस्य बजरङ्ग नेपाली बताउनुहुन्छ ।
जिल्लामा हिन्दू परम्पराका यी धार्मिकस्थलबाहेक इस्लाम परम्पराका सुफी सन्त गदाअलि शाह, बहारअलि शाह र रहमअलि शाहका बलवा नगरपालिका–११ रौजाअवस्थित मजार (समाधिस्त गरिएको ठाउँ) सबै धर्म परम्पराका श्रद्धालु याचकको दुःख पुकारा गर्ने साझास्थल रहँदै आएको छ । रौजामजार भनेर चिनिने यस ठाउँमा आफ्नो दुःख पुकार गर्ने दैनिक सयौँ सङ्ख्याका याचक पुग्दछन् ।
त्यसैगरी जिल्लाको गौशाला र बर्दिबास नगरक्षेत्रमा कैयौँ बौद्ध परम्पराका गुम्बा संरक्षणको पर्खाइमा छन् । यिनको सम्भार र विकासमा मुख्यरुपले सम्बन्धित स्थानीय तहले तत्परता र पहलकदमी देखाउनुपर्ने रौजाकै बासिन्दा मन्सुल कवारी बताउनुहुन्छ । यद्यपि जिल्लाका यी प्राचीन सम्पदाले आवश्यक संरक्षण र वास्ता अहिलेसम्म पाउन नसकेका आम सर्वसाधारणको गुनासो छ ।
त्यसैगरी यता नेपाल–भारत सीमाक्षेत्र अवस्थित मटिहानी रामायणकालीन जनश्रुतिका कैयन उदाहरणसँग जोडिँदै आएको धार्मिकस्थल हो । देशभरिकै सबै धार्मिक मठको मुख्य मानिने लक्ष्मीनारायण मठ यहीँ छ । मटिहानी नगर बसाउने सन्त तश्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पिरबाबा मानिन्छन् । यहाँ तश्मैयाबाबा र पिरबाबाको समाधिस्थल छ ।
यसबाहेक प्राचीन वैदिक भाषा संस्कृतको पठनपाठन हुने ३०४ वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय र महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) यहाँ छन् । यी स्थलको सम्भारमा पछिल्लो कालमा मटिहानी नगरपालिकाले चासो देखाएपछि अवस्था केही फेरिएको छ । यद्यपि यहीँ नै नेपालको प्रजातान्त्रिक आन्दोलनका सहिद केशव कोइरालाको स्मारकस्थल भने रुग्ण बनेको मटिहानीका नेपाली कांग्रेसका नेता उपेन्द्र चौधरी बताउनुहुन्छ ।
मठका महन्थ देशभरिकै मठहरूका नायक अर्थात् मानमहन्थ पदवीले विभुषित भए पनि ठाउँको विकासमा प्रयत्नशील नदेखिएका आम मटिहानीवासीको गुनासो छ । तीनदशक पहिलेसम्म देशका कुनाकाप्चाका विद्यार्थी शिक्षा आर्जन गर्न आउने महामुनि याज्ञवल्क्य र मठको संयुक्त नाममा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) र राजकीय संस्कृत माध्यमिक विद्यालयमा अब बाहिरी विद्यार्र्थीको सङ्ख्या स्वात्तै घटेको छ । एकदशक अघिसम्म ५०० को हाराहारीमा रहने गरेको विद्यार्र्थी सङ्ख््या अहिले नियमित पठनपाठनमा २०० मुनि खुम्चेको छ ।
जिल्लाका यी यावत् धार्मिकस्थलका नाउँमा विभिन्न संस्थाले विभिन्न निकायबाट रकम ल्याएर हजम गर्ने प्रवृत्ति मौलाएपछि स्थानीयवासीले मतलव राख्न छाडेका जिल्लामा आम टिप्पणी सुनिँदो छ । जिल्लाको मुख्य पहिचान मानिएका यी धार्मिकस्थलका नाउँमा रकम ल्याएर आपूmखुशी मनपरि गर्नेलाई अब कारवाहीको दायरामा ल्याउनुपर्ने आम धारणा बाक्लिँदै गएको छ । खासगरी तीनै तहका सरकार र यी मातहतका निकायले गर्ने काममा आर्थिक अपारदर्शिता बढ्दै गएपछि सर्वसाधारण ‘ठालूहरूको कमाइ खाने भाँडो’ भनेर टिप्पणी गरिरहेका भेटिन्छन् ।
जिल्लाका यी धार्मिक र पुरातात्विक महत्वका स्थलको तत्काल संरक्षणको पहलकद्मी नभए पछिल्लो पुस्ताले इतिहास पढ्दामात्रै यी ठाउँबारे जानकारी पाउने अवस्था बन्नसक्ने बुद्धिजीवीको टिप्पणी छ ।
जिल्लाका धार्मिकस्थलको दुरावस्थाबीच स्थानीय पहलकदमीबाटै प्रारम्भिक काम थालिनु पर्ने जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउनुहुन्छ । पछिल्ला दिनमा धार्मिकस्थलको सम्भारमा मटिहानी नगरपालिकाले चासो बढाउँदा सकारात्मक सुधार देखिएको र ती काममा प्रादेशिक र सङ्घीय सरकारको पनि नजर पर्न थालेको कर्णको भनाइ छ । जिल्लाका सबै प्राचीन सम्पदाको संरक्षणमा स्थानीय तत्परता बढाउन सम्बन्धित स्थानीय तहले पहलकदमी लिएर राज्यका अन्य तहको ध्यान आकृष्ट गर्न सकिने कर्ण बताउनुहुन्छ ।
“हामी सम्बन्धित ठाउँका बासिन्दा र हाम्रा स्थानीय जनप्रतिनिधिमूलक निकाय बेखबर हुने र अन्यले आएर काम गरी दिने भन्ने हुँदैन”, कर्ण भन्नुहुन्छ, “पहिलो प्रयत्न स्थानीय तहबाट गर्नेहो, अनि प्रदेश र सङ्घ गुहारेको अर्थ हुन्छ ।” यो कुरामा पहलकदमी लिन कर्णले जिल्लाका सबै स्थानीयतह नेतृत्वसँग अपिल पनि गर्नुभयो ।