नेपाली श्रमिकको सुरक्षाबारे नवनियुक्त राजदूतसँग चासो व्यक्त

  साउन ०५, २०७९

काठमाडौँ, साउन ५ : श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले साउदी अरेबिया र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूतसँग वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्नुभएको छ ।

मन्त्री कुँवरले आज साउदी अरेबियाका लागि नेपाली राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई मन्त्रालयमा बोलाएर वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्दै आएका समस्याका बारेमा छलफल गर्नुभएको हो ।

उहाँले नेपाली श्रमिकको कामको सुनिश्चितता र सुरक्षाका विषयमा विशेष ध्यान दिन निर्देशन दिनुभयो । “यहाँबाट जाने कामदारले उता भनेअनुसार काम नपाउने गुनासा धेरै सुनिन्छन् । पठाउने व्यक्ति वा कम्पनीले उनीहरुलाई ठग्ने गरेका कारण बिचल्लीमा परेका घटना आइरहन्छन्, यसबारे विशेष ध्यान दिन म आग्रह गर्न चाहन्छु”, मन्त्री कुँवरले भन्नुभयो ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले विदेशी भूमिमा कोमामा रहेका र अङ्गभङ्ग भएर उपचार गराइरहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको र दूतावासले सरकारको भावनाअनुसार भूमिका खेल्नुपर्ने बताउनुभयो । अहिले साउदीमा मात्रै २५ जना नेपाली श्रमिक कोमामा छन् ।

सो अवसरमा राजदूत सुवेदीले साउदी सरकार र नेपालबीच श्रम सम्झौताका लागि पहल गर्ने बताउनुभयो । अवैधानिकरूपमा कामदार जाँदा विभिन्न जटिलता निम्तिने भएकाले द्विपक्षीय श्रम सम्झौता भएमा त्यस्ता समस्या न्यूनीकरण हुने उहाँले बताउनुभयो ।

साउदीमा समस्यामा परेका श्रमिकको उद्धार र राहतका लागि पहल गर्ने उहाँको प्रतिबद्धता छ । अर्का राजदूत तामाङले दक्षिण अफ्रिकासँगै केन्या तथा तान्जेनियाका कारागार र अस्पतालमा रहेका नेपालीको उद्धारका लागि पहल गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया