गुल्मी, साउन १ : गुल्मीमा लिची उत्पादनमा कमी आएको छ । लिची उत्पादनका लागि पहाडी जिल्लाकै प्रसिद्ध मानिने रुरुक्षेत्र गाउँपालिकामा लिचीको उत्पादनमा आएको हो । केही वर्ष अगाडि लिचीलाई बुटवललगायतका शहरमा विक्री गरेको तर अहिले उत्पादनमा कमी आउँदा यहाँका कृषकहरु निकै मर्कामा परेका छन् ।
लिचीको उत्पादनमा कमी, फल नलाग्ने र लागेको फलमा कीरा लाग्ने कृषकहरुले करोडौंको नोक्सानमा आफूहरु परेको बताउँछन् । विगत तीन वर्ष अगाडि झण्डै एक करोड बढीको लिची विक्री गर्ने र लिची गाउँ भनेर सबैले चिन्ने गरेको अहिले लिची बजारका कृषकहरु लिचीको पुरानो अवस्था सम्झिन बाध्य भएको बताउँछन् । लिचीको उत्पादनबाट आफ्नो जीविकोपार्जन गर्दै आएका कृषकहरु अझ बढी मारमा परेका छन् ।
“हाम्रो गाउँ पहिले लिची बजारको रुपमा परिचित थियो ।” कृषक तारानाथ ज्ञवालीले भन्नुभयो, “विगत तीन वर्षदेखि लिची उत्पादन निरन्तर घटेपछि हामी चिन्तित बनेका छौँ ।” रुरुक्षेत्रको च्यूरेक, थोर्गा र थानपति लिचीका लागि प्रसिद्ध ठाउँ भएको उहाँले बताउनुभयो ।
“जलवायू परिवर्तनको असर लिचीमा परेको छ,” अर्का कृषक राधिका ज्ञवालीले भन्नुभयो, “लिचीलाई आवश्यक पर्दा समयमा पानी परेन । लिचीमा दाना लाग्दा पानी परेपछि उत्पादन भएको र कीराको प्रकोप देखियो । यहाँ कृषि ज्ञान केन्द्र गुल्मीमार्फत् लिची पकेट क्षेत्रको रुपमा घोषणा भयो । तर घोषणामा मात्र सीमित भयो ।” कृषक युवराज ज्ञवालीले भन्नुभयो, “नामको मात्रै पकेट क्षेत्र भनेर कृषकलाई कुनै राहतको कार्यक्रममा सहभागी नगराएको उहाँको गुनासो रहेको छ ।”
कृषि उपजहरु उत्पादनको क्रममा कृषकले ठूलो क्षति बेहोर्नुपर्ने, उत्पादन भएको उपजलाई बजारीकरणमा समस्या र कृषकले उपयुक्त मूल्य नपाउने अवस्थामा कृषकलाई अनुदानले काम नगर्ने कृषक रीता भट्टराईले बताउनुभयो । व्यवसायिक कृषकहरुलाई अनुगमनको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कृषकको माग र आवश्यकताका आधारमा कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले लिचीलाई पुनः मुख्य आम्दानीको स्रोत बनाएर कृषकलाई राहत दिलाउने बताउनुभयो ।
कृषि ज्ञान केन्द्र, गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले हामीलाई यस्तो समस्या भयो भनेर त्यहाँका कृषकहरुले अहिलेसम्म कार्यालयमा आएर नभनेको बताउनुभयो । उहाँले कृषकले आफ्नो समस्या बताएमा जतिबेला पनि समस्या भएको क्षेत्रमा पुगेर समस्या समाधान गर्ने बताउनुभयो ।
कृषक स्वयम् सचेत हुनुपर्ने भन्नुहुँदै उहाँले भन्नुभयो, “कृषक नै सचेत नभएसम्म कृषि राम्रो हुन सक्दैन । हामीले कार्यालयबाट सबैतिर सूचना प्रवाह गर्दा पनि हामीलाई यस्तो समस्या आयो भनेर नआएपछि हामीले के गर्ने ? ” आफ्नो समस्या सम्बन्धित ठाउँ कृषि ज्ञान केन्द्रलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।