बलेवा, असार १४ : हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले ओखर खेती प्रवद्र्धन थालेको छ । आर्थिक उपार्जन गर्ने मुख्य क्षेत्र कृषिलाई बनाएको उक्त गाउँपालिकाले ओखर खेतीको सम्भावनालाई आत्मासाथ गर्दै किसानका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।
कृषि उत्पादनका आधारमा ‘एक वडा, एक कृषि उपज हव’ बनाउने नीति ल्याएको गाउँपालिकाले ओखर खेतीलाई पनि प्राथमिकतामा राखेको हो । किसानका लागि उत्पादन लागत कम पर्ने, बजारीकरणको समस्या नरहेको र एकपटक लगाएपछि वर्षौँ उत्पादन लिन सकिने भएकाले ओखर खेतीलाई प्राथमिकता दिइएकोे गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताउनुभयो ।
आगामी आर्थिक वर्षमा ओखर खेतीमा लाग्ने किसानका लागि बिरुवा, प्रविधि र संरक्षण तथा सिँचाइका लागि आवश्यक कार्यक्रम तय गरिएको उहाँले जानकारी गराउनुभयोे । मागका आधारमा किसानलाई अनुदानसमेत उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको छ ।मुस्ताङमा उत्पादन भएको ओखर देशका ठूला सहरमा रु ५०० देखि एक हजार किलोसम्ममा बिक्री हुने गरेको छ ।
अहिले थासाङमा उत्पादन भइरहेको ओखर खोज्न व्यापारी बगानमा पुग्ने गरेका छन् । ओखरमा दाना नलाग्दै मोलमोलाइ हुने गरेकाले गाउँपालिकाले किसानलाई ओखर बालीसँगै आयआर्जनमा जोड्नका लागि ओखर खेती प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको हो । हावापानीका हिसाबले थासाङका अधिकांश वडामा ओखरको खेती राम्रो हुने गरेको छ ।
उक्त गाउँपालिकामा उत्पादन भएका स्याउ, आलु, ओखर तथा अन्य तरकारी बाली विदेशमासमेत निर्यात हुने गरेको छ । यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर आगामी वर्ष खेतीयोग्य जमिनमा तारबारदेखि बाँझो जमिनमा खेती लगाउन सुरुआत गरिने अध्यक्ष गौचनले बताउनुभयो ।
गाउँपालिकाले फलफूल र तरकारीका अलावा पशुपालनलाई पनि प्राथमिकतामा राखेर प्रवद्र्धनका कार्यक्रम ल्याएको छ । गाउँपालिकाभित्र बालीनालीमा विषादी र रासायनिक मलको प्रयोगलाई क्रमशः न्यूनीकरण गर्ने नीतिसमेत गाउँपालिकाले ल्याएको छ । बजारमा प्राङ्गारिक उत्पादनको माग बढिरहेकाले स्याउ, आलु, सिमी, ओखर र अन्य तरकारी बालीमा प्राङ्गारिक मल तथा परम्परागत घरायसी किटनाशक औषधिको प्रयोगलाई प्रोत्साहन गर्न लागिएको उहाँको भनाइ थियो ।
गाउँपालिकाको पहिचानका रूपमा रहेको अन्नको भण्डारका भनेर चिनिने कुञ्जो गाउँलाई कृषि उत्पादनको मुख्य क्षेत्रका रुपमा विकास गरेर किसानलाई सवल बनाइने अध्यक्ष गौचनले बताउनुभयो । गाउँपालिकाले पर्यटन क्षेत्रलाई कृषिपछिको महत्वपूर्ण आर्थिक विकासको क्षेत्रका रूपमा विकास गर्ने भएको छ । यहाँ रहेका तालतलैया, पदमार्ग र धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलको प्रवद्र्धनका लागि गाउँस्तरमै कार्यक्रम तयार गरिएको हो ।
कोतघर संरक्षण गर्न डिपिआर बनाइने
गलकोटको ऐतिहासिक कोतघर संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गलकोट नगरपालिकाले ‘डिपिआर’ बनाइने भएको छ । ‘डिपिआर’मार्फत यहाँको समग्र विकास निर्माण गरेर पर्यटकको आकर्षणको केन्द्र बनाउने लक्ष्य राखिएको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । नीति तथा कार्यक्रममा कोतघरको ‘डिपिआर’ बनाउने उल्लेख छ । बजेटमा पनि जीर्णोद्वारका लागि रकम विनियोजनको गरिएको छ ।
कोतघर धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको स्थान हो ।नगरको बजेट नहुँदा गत वर्ष नगर विकास कोष, गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, विदेशमा बस्ने गलकोटे युवासमेतले लगानी गरेर केही खण्डमा पूर्वाधार बनाइसकेका छन् । गत महिनाको वर्षात र हावाहुरीको बेला रुख ढलेर कोतघरमा क्षतिसमेत पुगेको थियो । उक्त कोतघर मर्मत गरी व्यवस्थित बनाउने काममा पनि बजेट परिचालन हुने उल्लेख छ ।
मध्यपहाडी लोकमार्गदेखि छ किमी सडक निर्माण गरेर कोतघर पुग्ने व्यवस्था गत वर्ष भइसकेको थियो । उक्त सडक व्यवस्थित र कालोपत्र गर्ने नगरको लक्ष्य रहेको उपप्रमुख फमलाल निउरेले बताउनुभयो । यो सडकको केही खण्डमा नाली र कल्भर्टसमेत निर्माण भइसकेको छ । “पहिलो चरणमा ग्राभेल गरेपछि आगामी वर्ष कालोपत्रसम्मको योजना राख्दैछौँ”, उहाँले भन्नुभयो, “पर्यटक भित्र्याउने सडक भएकाले क्रमशः लगानी गरेर स्तरीय बनाउने हो ।” कोतघरबाट गलकोट उपत्यका, घुम्टेको पहाड, दरमखोला र ताराखोला गाउँपालिकाको केही खण्डसमेत देखिन्छ ।
कोतघरलाई मर्मत र रङरोगन गरिएको छ । सँगैको कालिका मन्दिर पनि मर्मत भएको छ । झण्डै १०० रोपनी जमिन तारबार लगाएर संरक्षण गरिएको छ । खाने पानीको धारा निर्माण, सत्तल, विश्रामस्थल र आकर्षक पदमार्गसमेत निर्माण भइरहेको छ । पदमार्गका लागि गत वर्षको बजेटमा नगरपालिकाले रु तीन लाख लगानी गरेको थियो । मल्लकालीन अजङ्गका दुई खुकुरी र दुई खुँडा राखिएकाले यो ऐतिहासिकस्थल भएको पुष्टि भएको स्थानीय झहरसिंह खत्रीले बताउनुभयो ।
गलकोटे राजाले प्रयोग गरेका ३०० वर्ष पुराना हतियारसमेत यहाँ राखिएको छ । सबै सामान पुरातात्विक हुन्, त्यसैले संरक्षणको योजना बनाइएको उहाँको भनाइ थियो । गलकोटका पहिलो राजा जितेन्द्रदेव मल्लले यो कोतघर बनाएको इतिहास छ । नेपाल एकीकरण पूर्व १८४४ सालसम्म यो राज्य स्वतन्त्र थियो । २०१७ सम्म गलकोट रजौटाका रूपमा चिनियो । २०१९ सम्म सदरमुकामको रुपमा गलकोटमा प्रशासनिक इकाइको रूपमा थियो ।