बागमती, असार १३ : बागमती प्रदेशसभाको आज दिउँसो बसेको बैठकले विनियोजन विधेयक, २०७९ लाई सर्वसम्मतले स्वीकृत गरेको छ । बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेललाई बैठकमा विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
मन्त्री कट्टेलले प्रदेशसभा बैठकमा पेश गर्नुभएको सो प्रस्तावको विपक्षमा सांसद नदेखिएपछि सभामुख सानुकुमार श्रेष्ठले उक्त विधेयक सर्वसम्मतले स्वीकृत भएको घोषणा गर्नुभयो । आजको बैठकमा मन्त्री जमरकट्टेलले आगामी आव २०७९/०८० का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि विपक्षी दलले उठाएको प्रश्नहरुको जवाफ दिनुभएको थियो ।
उहाँले बजेट निमार्णका क्रममा केही कमीकमजोरी भएकाले त्यसलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठकमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य दीपक निरौला र विवेकशील साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्यालले बजेट विनियोजनका सम्बन्धमा रहेका कमीकमजोरीबारे आआफ्नो गुनासो राख्नुभएको थियो ।