तेक्वान्दो खेलाडी विश्वराज सम्मानित

  असार १२, २०७९

काठमाडौँ, असार १२ : कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलाडी विश्वराज श्रेष्ठलाई सम्मान गरेको छ । विश्वराज कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हुनुुहुन्छ । अस्ट्रेलियामा भएको दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा विश्वराजले २ स्वर्ण र १ कास्य जित्दै डोजाङका साथै देशको प्रतिष्ठा अभिवृद्धि गरेकोमा सम्मान गरिएको आयोजक डोजाङले जनाएको छ । विश्वराजले ब्रिसबेन खुला तेक्वान्दोमा २ स्वर्ण जित्नुभएको थियो ।

उहाँले क्योरोगीको ६८ केजीमुनि र स्पेशल फाइटमा १–१ स्वर्ण जित्नुभएको थियो । त्यस्तै सिड्नी तेक्वान्दो च्याम्पियनसिपमा उहाँले कास्य पदक जित्नुभएको थियो । दुवै प्रतियोगिता सन् २०१९ मा भएको थियो । अध्ययनका सिलसिलामा विश्वराज सन् २०१८ मा अस्ट्रेलिया जानुभएको थियो । त्यही दौरान उहाँले उक्त प्रतियोगितामा सहभागिता जनाउनुभएको हो । नेपाल आएका बेला कोटेश्वर तेक्वान्दो डोजाङले विश्वराजलाई सम्मान गरेको हो ।

तेक्वान्दोका मुख्य प्रशिक्षकसमेत रहेका कोटेश्वर तेक्वान्दो डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले विश्वराजलाई सम्मान गर्नुभयो । प्रमुख श्रेष्ठले आफ्ना डोजाङका खेलाडीले गरेको प्रगतिले सिङ्गो डोजाङ परिवारले गर्वको अनुभूति गरेको बताउँदै आगामी दिन अझ सफलताका लागि विश्वराजलाई शुभकामना दिनुभयो ।

सम्मानित भएपछि विश्वराजले भन्नुभयो, “सात वर्षदेखि तेक्वान्दो खेल्न सुरु गरेँ । तेक्वान्दोप्रतिको लगाव र मायाले गर्दा चटक्कै छाड्न पनि गाह्रो छ । त्यसैले अध्ययनका लागि अस्ट्रेलिया गए पनि मौका पाउन साथ प्रतियोगितामा सहभागी हुन्छु । मेरो सफलताको कदर गर्दै सम्मान गर्नुभएकोमा कोटेश्वर तेक्वान्दो डोजाङलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’’

तपाईको प्रतिक्रिया