काठमाडौँ, असार १२ : नेपाल आर्मी ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आज टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र पाँच कास्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।
नेपाल एथलेटिक्स सङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको प्रतियोगितामा एपिएफ क्लब ९ स्वर्ण, ६ रजत ८ कास्यका साथ दोस्रो भयो । तेस्रो स्थानको बाग्मती प्रदेशले ३ स्वर्ण, २ रजत र ६ कास्य हात पा¥यो । ३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी २ स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो । प्रहरीले ३ रजत र ४ कास्य पनि हासिल ग¥यो ।
सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे । प्रतियोगिताको पुरुषमा एपिएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारू उत्कृष्ट खेलाडी घोषित भए ।
शिवराजले ३ स्वर्ण र १ रजत जिते । जयरानीले २ कीर्तिमानीसहित ४ स्वर्ण कब्जा गरिन् । जयरानीको नाममा थप १ रजत पनि रह्यो । जयरानीले १०० र ४०० मिटर हर्डल्समा कीर्तिमान रचेकी थिइन् ।
प्रतियोगितामा कूल तीन राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान आर्मीका जीवन थारूले पुरुष ११० मिटर हर्डल्समा बनाएका थिए । जीवनले एक कीर्तिमानीसहित दुई स्वर्ण र उत्तिनै रजत हात पारे । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि पाँच हजार नगद पुरस्कार प्रदान गरियो ।
विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।
तीनदिने उक्त प्रतियोगितामा २४० खेलाडीको सहभागिता रहेको आयोजक सङ्घका सचिव आरके विष्टले जानकारी दिनुभयो ।