विराटनगर,
प्रदेश १ सरकारले कृषि, उद्योग र रोजगारी सिर्जनालाई प्राथमिकता राखेर भोलि अर्थात् असार १ गते आर्थिक वर्ष २०७९र०८० का लागि बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षको बजेट ३२ अर्बको थियो । यस पटक बजेटको आकार २० प्रतिशतले बढ्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।‘चालु आर्थिक वर्षको भन्दा २० प्रतिशत बजेट बढ्ने देखियो,’ बजेटको आकार बढाउनुको कारण प्रस्ट पार्दै मन्त्री आङ्बोले भने, ‘संघीय सरकारबाट सामान्यीकरण अनुदान र राजस्व बाँडफाँटबाट करिब १० प्रतिशत वृद्धि भएर प्राप्त भएको छ । आफ्नो राजस्व पनि १० प्रतिशत हाराहारी वृद्धि हुने अपेक्षा छ ।’ सशर्त र समपूरक अनुदान पनि संघीय सरकारबाट विगत आर्थिक वर्षभन्दा यस पटक बढेकाले स्वाभाविक हिसावले बजेटको आकार बढ्ने उनको भनाइ छ । मन्त्री आङ्बोका अनुसार यस पटक प्रदेश सरकारले राजस्वको दरलाई सामान्य मात्रै हेरफेर गरे पनि राजस्वको दायरा भने व्यापक बनाउने तयारी गरेको छ । ‘हामीले थुप्रै क्षेत्रलाई करको दायरामा ल्याउँछौं । करको दरमा उल्लेख्य वृद्धि भएको छैन,’ उनले भने ।
आयात प्रतिस्थापनमा केन्द्रित बजेट
संघीय सरकारले ल्याएको बजेटमा जस्तै प्रदेश सरकारले पनि आयातलाई प्रतिस्थापन गर्ने र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य बजेटमा लिने भएको छ । त्यसका निम्ति कृषिलाई विशेष प्राथमिकता दिने, प्रदेश भित्रका घरेलु र साना उद्योगलाई प्रबर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने कुरालाई प्रदेश सरकारले जोड दिने भएको छ ।
१ नम्बर प्रदेश निर्यातमा अन्य प्रदेशभन्दा अगाडि भएका कारण निर्यातलाई प्रबर्द्धन गर्ने गरी बजेटको तयारी भइरहेको मन्त्री आङ्बोले जानकारी दिए । ‘कृषि, उद्योग, रोजगारी सिर्जनालाई प्राथमिकता दिँदा उत्पादकत्व वृद्धि हुने, रोजगारी सिर्जना हुने र आयात प्रतिस्थापन हुने खालको बजेट आउँछ,’ उनले भने ।
प्रदेश सरकारले प्राथमिकता प्राप्त पूर्वाधार प्रदेश लोकमार्ग, प्रदेशका कतिपय रणनीतिक सडकहरू, खानेपानी, सिंचाई लगायतका ठूला आयोजनालाई आगामी आर्थिक वर्षमै सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गर्ने भएको छ । जसबाट रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई सहयोग हुने आर्थिक मामिला मन्त्रालयको विश्वास छ । पूर्वाधार निर्माणलाई पनि ठूलो परिमाणमा बजेट विनियोजन हुने मन्त्री आङ्बोले बताए ।
कृषि क्षेत्रमा नयाँ के हुन्छ र ?
कृषि क्षेत्रमा प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान कार्यक्रम पाइलट प्रोजेक्टको रुपमा लागू गर्ने भएको छ । ‘पहिलो पटक हामीले दूध, चैते धान र मकैलाई उत्पादनको आधारमा अनुदान या प्रोत्साहन दिने नीति अपनाउन लागेका छौं,’ मन्त्री आङ्बोले भने, ‘यो कार्यक्रमबाट प्रदेशभरका सबै किसान लाभान्वित हुनेछन् । यो पाइलट प्रोजेक्टकै रुपमा सुरु गर्न लागेका छौं । त्यसो हुँदा सोझै किसानको हातमा अनुदान पुग्छ ।’
मन्त्री आङ्बोका अनुसार साना र मझौला किसानलाई ब्याज अनुदान दिने कार्यक्रम पनि सरकारले सुरु गर्ने भएको छ । ‘त्यसका लागि विभिन्न बैंक र वित्तीय संस्थासँग पनि छलफल भइसकेको छ । तरलताको समस्या नभएका बैंक र वित्तीय संस्थासँग सहकार्य गरेर कृषकलाई कर्जा प्रवाह गर्ने र ब्याज अनुदान दिने गरी कार्यक्रम ल्याउन लागेका छौं,’ उनले भने ।
यस्तै कृषि सहकारी, कृषि समूह र निजी क्षेत्रको नेतृत्वमा स्थानीय तहको साझेदारीमा एक स्थानीय तहमा एक उत्पादनलाई महत्व दिएर केही पाइलट प्रोजेक्टको रुपमा प्रयोग गर्न खोजेको पनि उनले बताए । ‘त्यस कार्यक्रम अनुसार बजार व्यवस्थापनको काम पनि हुनेछ,’ उनले भने, ‘उत्पादन वृद्धि, रोजगारी सिर्जना, उद्योगको प्रबर्द्धन र बजारीकरण गर्ने हाम्रो बजेटको मुख्य प्राथमिकता हुनेछ ।’ प्रदेश सरकारले स्वीस सरकारसँगको सम्झौता अनुसार घरेलु, साना र मझौला उद्योगका लागि बैंकको कर्जा सुरक्षाको लागि छुट्टै कोष राखेर उद्योगीहरुको समग्र क्षमतामा अभिवृद्धि गर्ने खालको कार्यक्रम पनि ल्याउने भएको छ ।
बजेट खर्च ८० प्रतिशत हुने अपेक्षा
प्रदेश १ सरकारले अहिलेसम्ममा ६० प्रतिशतमाथि पुँजीगत खर्च गरेको जनाएको छ । ‘हामीसँग अझै असार महिना बाँकी छ । असार महिनामा अधिकांश राजस्व पनि संकलन हुने र भुक्तानी पनि बढी हुने भएकोले हामी ८० प्रतिशतभन्दा बढी खर्च गर्न सक्छौं भन्ने विश्वास छ,’ मन्त्री आङ्बोले भने ।
रातोपाटिबाट