तेक्वान्दो : कोटेश्वर च्याम्पियन

  जेठ ३०, २०७९

काठमाडौँ, जेठ ३० : आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौँ महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । कोटेश्वर पाँच स्वर्ण, दुई रजत र पाँच कास्य पदकका साथ टिम च्याम्पियन बन्न सफल भयो ।

पेप्सीकोलास्थित आयोजक कोटेश्वर डोजाङकै हलमा भएको उक्त प्रतियोगितामा दोस्रो भएको बाँकेले चार स्वर्ण, दुई रजत र दुई कास्यपदक हात पा¥यो । चार स्वर्ण, एक रजत र तीन कास्य पदकका साथ चन्द्रागिरिले तेस्रो स्थानमा चित्त बुझायो । शीर्ष तीन स्थान स्थान हात पार्ने टोलीले क्रमशः रु ३० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको क्योरोगीतर्फ पुरुषमा चाँदनीका समीर तामाङ र महिलामा राष्ट्रिय विभूतिकी पुष्पा राखेल मगर उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेको पुरुषमा बाग्लुङका लवसन विक र महिलामा स्युचाटारकी मोनिका मगर उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारैले जनही रु पाँच हजार पुरस्कार पाए । विजेतालाई काठमाडौँ महानगरपालिका–३२ का अध्यक्ष नवराज पराजुली, प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।

क्योरोगीमा २४ र पुम्सेमा ६ गरी ३० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । आयोजकका अनुसार २२ जिल्लाका ६०० खेलाडी सहभागी थिए ।

तपाईको प्रतिक्रिया