गाईघाट, जेठ १६ : जिल्ला सदरमुकाममा रहेको उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा बहुमत वडा अध्यक्षसहित इतिहासमै पहिलोपल्ट नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ । नेपाली काँग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले दुईहजार ८६ मतको अन्तरले एमालेका उम्मेदवार भागवत राउतलाई पराजित गर्दै उहाँ नगर प्रमुखमा विजयी हुनुभएको हो ।
त्रियुगा नगरपालिकामा कुल खसेको ४० हजार १२० भोट मध्ये बस्नेतले १३ हजार ९५९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भागवत राउतले ११ हजार ८७३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताउनुभयो ।
तत्कालीन नेकपा एमाले हाल नेकपा समाजवादीका निवर्तमान नगरप्रमुख बलदेव चौधरीसँग अघिल्लो २०७४ सालको निर्वाचनमा ७३ मतको झिनो अन्तरले पराजित हुनुभएका बस्नेतले यसपटक भने चौधरीलाई चारहजार ८१२ मतले पछाडि पार्नुभएको हो । निवर्तमान नगरप्रमुख चौधरीले नौहजार १४७ मत मात्र प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्रियुगा नगरपालिकामा कसैसँग गठबन्धन नगरी नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा होमिएको थियो । नगर प्रमुखसँगै क्रमश वडा नं १, ३, ४, ५, ८, ९, ११, १२ र १३ गरी नौ वटा वडामा नेपाली काँग्रेसले वडा अध्यक्षसहित विजय हासिल गरेको छ ।
यसैगरी, नेकपा एमालेका उम्मेदवार महेश्वरी राईले १३ हजार ७०३ मत प्राप्त गरी उपप्रमुख पदमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार सरिता राईले ११ हजार ९८१ मत मात्र प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सिलवालले बताउनुभयो ।
नेकपा एमालेले उपमेयरसँगै क्रमश वडा न २, ६, ७ र १० को वडा अध्यक्ष जितेको छ । वडा नं १० मा भने काँग्रेसका प्रकाश खड्का र एमालेका किरण पाण्डेको बराबरी मत भएपछि गोलाप्रथाबाट किरण पाण्डे विजयी हुनुभएको हो । नेकपा माओवादीले भने वडा नं १४, १५ र १६ को वडा अध्यक्ष्यसहित सबै पदमा विजयी भएको छ ।
‘‘भौगोलिक, सामाजिक र साँस्कृतिक विविधता भएको त्रियुगा नगरलाई आर्थिक रुपले समृद्ध नगर बनाउन आपूm लागि पर्नेछु ’’ नव निर्वाचित नगर प्रमुख बस्नेतले प्रतिक्रिया दिनुभयो ।