ललितपुर, जेठ १२ : कलाको नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । काठमाडौँ महानगरपालिकामा युवा अनुहारका रुपमा प्रमुख र उपप्रमुख निर्वाचित हुँदै गर्दा ललितपुरमा भने पाका व्यक्ति नै दोहोरिनुभएको छ ।
पहिलो कार्यकालमा महानगरमा भएका विकासका काम र सरल व्यक्तित्वकै कारण उहाँ पुन: विजयी हुनुभएको महानगरवासी बताउँछन् । विगतमा तीन पटकसम्म वडाध्यक्षका रुपमा काम गर्नुभएका उहाँले ज्यापु समाजको अध्यक्ष भएर काम गर्नुभयो । उहाँसँग राससले गरेको संवाद प्रमुखका रुपमा निर्वाचित भएपछि अबका पाँच वर्षका यहाँका मुख्य प्राथमिकताका क्षेत्रहरु केके हुन ?
पहिलो कुरा मेले आफैँले पहिले सुरु गरेका काम पूरा गर्नुपर्छ । एशियाली विकास बैंकसँग रु ५४ करोड अनुदानमा सम्पदा क्षेत्रमा ट्र्याक लाइन परियोजना अघि बढेको छ । यो काम अहिलेसम्म ६० प्रतिशत सकियो र ४० प्रतिशत बाँकी छ, त्यो सकाउनुपर्छ । अहिले बेस्सरी पानी पर्दा पाटन दरबार क्षेत्रमा जलमग्न बन्छ । ढुङ्गेधारामा पानी जम्छ । परियोजना पूरा भएपछि त्यो हट्नेछ ।
दोस्रोमा राजदल गणसँग समझदारी गरेर ३० रोपनी जग्गा फिर्ता लिइएको छ । त्यो जग्गा लगनखेलको अशोक स्तूपाको दक्षिण र पश्चिममा पर्छ । त्यहाँको पोखरीमा साढे दुई वर्षमा कमलका फूल फुलाउने लक्ष्य छ । त्यो ठाउँमा उत्तरमा सप्तपाताल पोखरी छ र सेनाको क्षेत्रमा रहेको पोखरी गरी जम्मा ४५ रोपनी जग्गा त्यहाँ छ । त्यहाँ ‘ग्रिन एण्ड ब्ल्यु फ्युजन प्रोजेक्ट’ बनाउने योजना छ । त्यसका लागि अध्ययन भइसकेको छ । सेनाको क्षेत्रमा भित्र जान नसकिने भएकाले बाहिरबाट हेर्न मिल्ने गरी बार लगाइनेछ । हामीले तेस्रो स्मार्ट सडक बत्ती जडान थालेकामा पहिलो चरण सकियो । दोस्रो चरणमा तीन हजार चार सय बत्ती जडान गर्दैछौँ । चक्रपथमा पनि स्मार्ट बत्ती राख्न लागिएको छ ।
महानगर कला नगरी हो र यहाँ प्रशस्त सम्पदाहरु छन् । मूर्त र अमूर्त सम्पदालाई राम्रोसँग हेरचाह गर्नुपर्छ । प्रत्येक सम्पदामा सुधार भइरहेको छ । भूकम्पमा क्षतिग्रस्त भीमसेन मन्दिर सरकारसँग कति पनि पैसा नलिई पुन:निर्माण गरिएको छ । सरकारसँग पैसा लिँदा ठेक्कामा काम गर्नुपर्छ र ठेक्कामा गर्दा त्यसको गुणस्तर कायम नहुने भएकाले चन्दा सङ्कलन गरेर त्यसको निर्माण गरिएको छ । सम्पदाका पाँच छवटा परियोजना जारी छन् र त्यो पूरा गर्नुपर्ने जिम्मेवारी छ ।
पाँच वर्ष पहिले महानगर बनाउन ललितपुर उपमहानगरपालिकामा हिजोका गाउँपालिका र कार्यविनायक नगरपालिका जोडिएको छ । नयाँ थपिएका वडामा विकास भइसकेको छैन । उपमहानगरपालिकामा पर्ने पुल्चोक, जावलाखेल, लगनखेल, नटोल, गाबहालमा विकास गर्न त्यति आवश्यक छैन । त्यसैले चक्रपथ बाहिरका वडामा लगानी बढाएर पुराना वडाको स्तरमा ल्याउन नीति परिवर्तन गरेका छौँ । रातारात नभए पनि अबका पाँचसात वर्षमा त्यो ठाउँको विकास यहाँको हाराहारीमा आउने छ ।