पालिकामा कांग्रेस र वडामा एमाले बढी

  जेठ १२, २०७९

तुलसीपुर, जेठ १२ : दाङका पालिकामा कांग्रेसले वर्चस्व जमाएको छ, भने वडामा नेकपा (एमाले) अगाडि छ । दश स्थानीय तहमध्ये कांग्रेसले पाँच, नेकपा (माओवादी केन्द्र)ले तीन र एमालेले दुई स्थानीय तहमा जित हात पारेको छ ।

दाङका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ । घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डीसी विजयी हुनुभएको छ, भने तुलसीपुर उपमहानगरको नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी हुनुभएको छ । त्यस्तै कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दङ्गीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजयी हासिल गरेको छ । यी पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै जित हात पारेको हो ।

त्यस्तै माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ । यी तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन् । राप्तीको उपप्रमुखमा एमाले, बङ्गलाचुली र गढवाको उपप्रमुखमा कांग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रीतेन्द्रबहादुर थापाले बताउनुभयो । दाङमा १० स्थानीय तह छन् ।

तपाईको प्रतिक्रिया