सुदूरपश्चिम, जेठ ११ : सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम कैलाली जिल्लामा ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का लागि अपेक्षा गरिएभन्दा फरक देखिएको छ ।
विसं २०७४ मा भएको निर्वाचनमा यी ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायतका आधारमा यसपालिको निर्वाचन पनि विजयी हुने नेता कार्यकर्ताको अनुमान एवं विश्लेषणभन्दा फरक परिणाम आएको हो । सत्ता साझेदार दलले तालमेल गरेर प्रत्यासी उठाएका तीन पालिका तहमा मात्र पूर्णरुपमा नजिता आफ्नो पक्षमा पार्न सकेका छन् ।
पाँच वर्षअघिको चुनावमा सात पालिका प्रमुखमा विजयी भएको एमालेले सम्पन्न चुनावमा आफ्नो यसअघिको विरासत जोगाउन सकेन । एमाले दुई पालिका प्रमुखमा मात्र विजयी हुन सक्यो । कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच पालिका तहका प्रमुख उपप्रमुखमा तालमेल गरिएकोमा वडा तहका अध्यक्ष र सदस्य पदमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।
एमाले, नेपाल परिवार दललगायतसँग चुनावी तालमेल गर्ने बताए पनि उम्मेदवारी मनोनयन गर्दा ती दलसँग तालमेल गरेर उम्मेदवारी दिएको कतै देखिएन । जिल्लाको दक्षिणपूर्वी क्षेत्रका चार पालिका तहमा सम्पन्न निर्वाचनको परिणाम नागरिक उन्मुक्ति पार्टीको पक्षमा गएपछि सो क्षेत्रमा ठूला दलले आफ्नो पुरानो विरासत गुमाउन पुगेका छन् ।
ठूला दलको विरासत तोड्दै भर्खरै स्थापना गरिएको नागरिक उन्मुक्ति पार्टी टीकापुर नगरपालिकाको प्रमुख,जानकी र जोशीपुर गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष, तथा भजनी नगरपालिकाको प्रमुख÷उपप्रमुखमा विजयी बन्न सफल भएको छ । टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीको पत्नीको नेतृत्वमा केही महिनाअघि मात्र यो पार्टी स्थापना भएको थियो ।
टीकापुर र आसपासको क्षेत्र कांग्रेसका नेताहरु रामजनम चौधरी, ईश्वरी न्यौपाने, डा रणबहादुर रावल, नारायणदत्त मिश्र, माओवादीका नेता नेपबहादुर चौधरी, नेकपा (एकीकृत समाजवादी)का नेत्री गरिमा शाहको राजनीतिक कर्म थलो हो ।
माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका एमालेका नेता लेखराज भट्टको गृह क्षेत्र गोदावरी नगरपालिकाको प्रमुखमा समेत एमालेले पराजय व्यहोरेको छ । एमालेले नगर प्रमुखको प्रत्यासी बनाएको भट्टका सहोदर भाइ गोकर्ण भट्ट पराजित हुनुभयो ।