दमौली, जेठ ११ : व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वैकुण्ठ न्यौपानेले अधुरा योजना सम्पन्न र पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानासँग आज शपथग्रहण गरेपछि न्यौपानेले अघिल्लो कार्यकालमा अधुरा रहेका योजना पूरा गर्नेतर्फ मुख्य ध्यान रहने बताउनुभयो ।
दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित न्यौपानेले एकीकृत विकास योजना, आवधिक योजना लगायत अघिल्लो कार्यकालमा सुरु गरिएका महत्वपूर्ण योजना पूरा गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख न्यौपानेले समाजबाट पछाडि परेका विपन्न वर्ग, क्षेत्रका समुदायलाई प्राथमिकतामा राखेर विकास अभियान अगाडि बढाइने बताउनुभयो । व्यास नगरपालिकालाई दलितमैत्री नगरपालिका बनाइने न्यौपानेले घोषणा गर्नुभयो । संविधान र कानूनको पालना गरेर काम गर्ने बताउँदै न्यौपानेले नगरवासीका चाहनालाई स्रोत र साधनको परिधिभित्र रहेर पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्ने बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले स्थानीय तहमा पारदर्शीता, जवाफदेहीता जनप्रतिनिधिको पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो । सबै नागरिकप्रति अपनत्व जगाउन सफल हुनुपर्ने बताउँदै ढुङ्गानाले सबैको साझा प्रतिनिधि बनेर काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा नगरप्रमुख न्यौपाने, उपप्रमुख इन्दिरा दरै, १४ वडाका अध्यक्ष, सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले प्रमाणपत्र वितरण गर्नुभएको थियो । नगरप्रमुख न्यौपानेले आजै व्यास नगरपालिका कार्यालयमा पुगेर पदस्थापन गर्ने कार्यक्रम रहेको छ । तत्कालै न्यौपानेले उपप्रमुख दरै लगायत वडाध्यक्ष र सदस्यहरुलाई शपथग्रहण गराउनुहुनेछ ।