लहान, जेठ ११ : मधेस प्रदेशको सिरहामा मधेस केन्द्रित दलहरू कमजोर देखिएका छन् । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सिरहामा मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को अवस्था कमजोर बनेको छ ।
सिरहाको १७ स्थानीय तहमध्ये जसापले चार जित्दा लोपसाले खातासमेत खोल्न सकेन । सिरहामा एमाले पहिलो र जसपा दोस्रो शक्तिका रूपमा उभिएको छ । जसपाले अघिल्लो निर्वाचनमा जितेको जति परिणाम ल्याउन नसके पनि दोस्रो शक्तिका रूपमा कायम भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा सिरहाको ६ स्थानीय तह जितेको जसपाले यसपालि चार मात्र जितेको छ । जसपाले पहिला जितेको सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र बरियारपट्टी गाउँपालिकामध्ये यसपालि बरियापट्टी गाउँपालिकामा मात्र आफ्नो पुरानो साख कायम राख्न सकेको छ । जसपाले पहिला जितेको पाँचवटै पालिका गुमाउँदा नयाँ तीनवटा पालिका जितेको छ ।
औरही गाउँपालिका र अर्नमा गाउँपालिका नेकपा (माओवादी केन्द्र)सँग खोसेको जसपाले कांग्रेसबाट नवराजपुर गाउँपालिका खोसेको छ । कतिपय स्थानीय तहमा जित नजिक पुगे पनि परिणाम आफ्नो उम्मेदवारको पक्षमा नआएको जसपाका नेताहरूले बताएका छन् ।
सप्तरीमा तीन स्थानीय तह जितेको लोसपाले सिरहामा भने एउटा पनि पालिका जित्न सकेको छैन । मधेस केन्द्रित दल आपसमा विभाजित हुनु, विस्तारै नेताहरूमा विलासिता बढ्दै जानु र अवसर पाएका बेला जनअपेक्षाअनुसार काम गर्न नसक्नुजस्ता कारणले मधेस केन्द्रित दल कमजोर बनेको विश्लेषकको भनाइ छ । एमालेले सिरहाको १७ पालिकामध्ये एक्लैले नौ स्थानीय तह जितेको छ ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा सिरहाको तीन स्थानीय तहमात्र जित्न सकेको एमालेले यसपाली नौ स्थानीय तह जित्न सफल भएको छ । अघिल्लो निर्वाचनमा जितेको लहान नगरपालिका, सुखीपुर नगरपालिका र सखुवानन्कारकट्टी गाउँपालिकामध्ये यसपाली एमालेले सुखीपुर नगरपालिकामात्र दोहो¥याएर जित्न सकेको छ ।
अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिका यसपाली एमालेले जित्दा सबैभन्दा बढी वडा भएको लहान नगरपालिका भने एमालेले गुमाएको छ । त्यहाँ कांग्रेसले प्रमुख र जसपाले उपप्रमुख जितेको छ । विसं २०७४ को निर्वाचनमा जसपाले जितेको सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका र नरहा गाउँपालिकामा यसपाली एमालेले जित निकालेको छ । यस्तै अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको कल्याणपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले नै जितेको छ ।